बुद्ध भूमि मानव सेवा आश्रमले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । संरक्षण विहीन, सडक मानव तथा गम्भीर अवस्थामा रहेका मानिसहरूको व्यवस्थापनमा नीति निर्माणकै तहबाट विशेष ध्यान माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
रुकुम पूर्वका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका प्रचण्ड रुकुम पश्चिम हुँदै फर्किने क्रममा आज बिहान शेरिगाउँमा भेटेर आश्रमको तर्फबाट ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा नीति निर्माण, बजेटको व्यवस्थापन देखि मानव सेवा भाव जागृत गराउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेसम्मका छन् ।
बुद्ध भूमि मानव सेवा आश्रमले विभिन्न जिल्लामा मानव सेवाको काम गरिरहेको र आश्रमको लोकप्रियता तथा आवश्यकता बढ्दै गएको भन्दै आश्रमका लागि लगानी र खर्चको व्यवस्थापन नियमित रूपमा गर्न माग गरेको छ ।
सार्वजनिक स्थान, विद्यालय तथा कलेजहरूमा मानवीयता प्रवर्द्धनसम्बन्धी नाटक एवं उत्प्रेरणात्मक कक्षाहरू सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने र यसका लागि पाठ्यक्रममा नै यो विषय समावेश गरियोस् आश्रमको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
साथै आश्रमले २०८५ सालसम्म देशलाई सडक मानव रहित घोषणा गर्न माग गरेको छ । जनजनमा सत्य, न्याय, अनुशासन, दया–माया, करुणा, अहिंसा जस्ता मानवीय गुणहरूलाई बढाएर वि.सं. २०८५ सालसम्म देशलाई सडक मानवरहित घोषणा गर्न माग गरिएको आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो ।
त्यस्तै कर्णाली प्रदेशका १० वटै जिल्लामा शाखा सञ्चालनका लागि भवन निर्माणमा बजेटको व्यवस्था गर्न माग गरिएको उहाँले बताउनुभयो । हाल आश्रममा ११ जना संरक्षण विहीन तथा सडक मानवहरू आश्रय लिएर बसिरहेका छन् ।
आश्रमले भवन निर्माणको लागि प्रयास गरिरहेको अध्यक्ष जैसीले बताउनुभयो । अध्यक्ष जैसी, जिल्ला संयोजक भिमा खड्का र भवन निर्माण निर्देशक समितिका सदस्य धनबहादुर ओलीले उक्त ज्ञापन पत्र प्रचण्डलाई बुझाउनुभएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रचण्डले ज्ञापन पत्र मात्र गरिएका माग पुरा गर्न आफ्नो तर्फबाट पहल गर्ने र नीति निर्माणमा समेत भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।





-1759842583.jpg)