Kakhara सबैको खबर सम्पूर्ण खबर
न्यु मुन लाइट बोर्डिङ स्कुलले २१ औँ वार्षिकोत्सव मनायो 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा रहेको न्यु मुन लाइट बोर्डिङ स्कुलले २१ औँ वार्षिकोत्सव मनाएको छ । साताव्यापी विभिन्न कार्यक्रमहरू गरी स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा फागुन १ गते विद्यालय परिसरमा खाद्य मेला तथा शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको थियो । 

त्यस्तै विभिन्न खेलकुद तथा सांस्कृतिक सहित अन्य प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न गरिएको स्कुलका प्रिन्सिपल खड्कबहादुर कँवरले जानकारी दिनुभयो । साताव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिएकामा आज मुख्य दिन वार्षिकोत्सव विशेष समारोह तथा अभिभावक भेला सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्ला समन्वय अधिकारी मेघराज सोनी, मुसिकोट १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, मुसिकोट ५ का अध्यक्ष समीर जङ्ग मल्ल, अन्य जनप्रतिनिधि, प्याव्सन, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, कर्मचारी, शिक्षकका पेसागत सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । 

स्कुल सञ्चालक शरद गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रिन्सिपल खड्कबहादुर कँवरले गर्नुभएको थियो । वार्षिकोत्सव विशेष समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । 

साथै कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो । त्यस्तै उत्कृष्ट काम गर्ने शिक्षकहरूलाई सम्मानित गरिएको थियो भने सरोकारवालाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । 

यो स्कुल २०६१ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आजैका दिन स्थापना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update