नेपाल शिक्षक महासंघ रुकुम पश्चिमले निर्वाचनका लागि कर्मचारी परिचालनमा शिक्षकहरूलाई अपमान गरिएको भन्दै आपत्ति जनाएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी परिचालनमा शिक्षकहरूलाई अपमान गरिएको भन्दै आपत्ति जनाएको हो ।
राष्ट्रसेवक कर्मचारीहरूलाई समानुपातिक ढङ्गबाट खटाउने गरी व्यवस्था गर्नुपर्नेमा शिक्षकलाई ऐच्छिक रूपमा खटाउने गरी व्यवस्था गरेकोमा घोर आपत्ति सहित कार्यविधिको भत्र्सना गर्दछौँ । शिक्षक पनि अन्य कर्मचारीसरह हुन् भन्ने कुराको सबैमा हेक्का रहोस्, महासङ्घका जिल्ला अध्यक्ष प्रेमबहादुर खड्का र सचिव शेरबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन स्वच्छ निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको अहम् भूमिका रहने भन्दै महासङ्घले शिक्षकहरूलाई निर्वाचनमा नखटाइनु शिक्षकहरू माथिको उपेक्षा रहेको बताएको छ ।
फागुन २१ को निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले शिक्षकलाई निर्वाचनमा नखटाएको र खटाएका ठाउँमा पनि शिक्षकको तह, श्रेणी र क्रममा क्रमभङ्गता गरी खटाइएकोमा शिक्षकप्रतिको असमानता र अपमानप्रति असहमति व्यक्त गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।
साथै शिक्षक कर्मचारीको नामावली माग गरी शिक्षकहरूलाई निर्वाचनमा नखटाइनु शिक्षकमाथि उपेक्षा भएको महासङ्घले जनाएको छ । त्यस्तै खटाइएका शिक्षकहरूलाई पनि मनोमानी रूपमा खटाइएको भन्दै त्यसलाई तत्कालै सच्याउन माग महासङ्घले गरेको छ ।
यस जिल्लामा निर्वाचनका लागि कर्मचारीहरूलाई खटनपटन गर्दा शिक्षकहरूलाई तह, श्रेणी र ज्येष्ठता समेतको बेवास्ता गरी मनोमानी ढङ्गबाट खटनपटन भएकोमा शिक्षक समुदायको मानमर्दन भएको छ । सो अपमानजनक कार्यलाई अस्वीकार गर्दै उक्त कार्यलाई तत्काल सच्याउन शिक्षक महासङ्घ रुकुम पश्चिम जोडदार माग गर्दछ, विज्ञप्ति मार्फत भनिएको छ ।
साथै तह, श्रेणी, ज्येष्ठता एवं मर्यादाको आघात हुने गरी दिइएको जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य नहुने समेत महासङ्घले स्पष्ट पारेको छ ।

यसैविच अपमानपूर्वक रूपमा निर्वाचनमा खटाइएको भन्दै आज केही शिक्षकहरूले उक्त जिम्मेवारी बहन गर्न नसक्ने बताइसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यदु राना, दिलबहादुर ओली, गणेशप्रसाद रेग्मी, लोकेन्द्र खड्का, काशीराम गौतम र झुपबहादुर सुनारले श्रेणी घटाएर परिचालन गरिएको भन्दै उक्त जिम्मेवारी पूरा गर्न नसक्ने जानकारी गराउनुभएको हो ।
उहाँहरुले यसअघिको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पुरा गरिसकेको भए पनि हाल भने प्रावि तृतीय श्रेणीको भनेर आफूहरूलाई निर्वाचनमा परिचालन गरिएको भन्दै उक्त जिम्मेवारीमा नरहने घोषणा गर्नुभएको हो । जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले केही शिक्षकहरूको हकमा प्राविधिक त्रुटि भएको पाइएकोले त्यसलाई सच्याइने बताउनुभयो ।






-1759842583.jpg)