Kakhara सबैको खबर सम्पूर्ण खबर
खलङ्गा बजारबाट दलका चिन्ह र उम्मेदवारका फोटो अङ्कित टिसर्टहरू हटाइयो
निर्वाचन आचारसंहिता विपरीतका टिसर्ट हटाइदै ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा बजार अनुगमन गरिएको छ । निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । 

फागुन १८ गते परेको होली पर्वमा निर्वाचन आचारसंहिताले बन्देज गरेका कपडा बिक्री हुन नदिने उद्देश्यले बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा बजारमा बिक्री गर्न राखिएका दलका झन्डा, उम्मेदवारको फोटो तथा निर्वाचन चिन्ह अङ्कित टिसर्टहरू हटाइएको उहाँले बताउनुभयो । निर्वाचन आचारसंहिता अनुसार त्यस्ता टिसर्ट लगाउन नपाइने भएकोले उक्त सामग्री हटाइएको उहाँको भनाई छ । 

बिक्रीका लागि पसलमा झुन्ड्याइएका टिसर्ट हटाउनुका साथै पसल भित्र राखिएका टिसर्ट बिक्री नगर्न व्यवसायीहरूलाई निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले बताउनुभयो । खलङ्गाका १ दर्जन पसलहरूमा अनुगमन गरिएको बताइएको छ । 

निर्वाचन आचारसंहिता विपरीत त्यस्ता सामग्री बिक्री भएको पाइएमा बिक्री गर्ने र प्रयोग गर्ने दुबैलाई कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले आजै एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी होली नमनाउनु जिल्लावासीमा अनुरोध गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update