Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी होली पर्व मनाउन रुकुम पश्चिम प्रशासनको अनुरोध 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्वाचन आचारसंहिता पालना गरेर होली पर्व मनाउन अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै अवाञ्छित गतिविधिहरू हुन नदिई सभ्य, मर्यादित तथा शान्तिपूर्वक रूपमा होली पर्व मनाउन अनुरोध गरेको हो । 

प्रशासनले अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना, कालोबजारी, मूल्य वृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण लगायत उपभोक्ता हित विपरीतका कार्यहरू नगर्न भनेको छ । चाडपर्वको बहानामा गैर कानुनी रूपमा चिट्ठा, जुवा तास, कुनै पनि प्रकारको बाजी वा सट्टे बाजी जस्ता क्रियाकलापहरू पनि नगर्न भनिएको छ ।

त्यस्तै मादक पदार्थ लगायत नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थानमा हो–हल्ला झैँ–झगडा जस्ता कार्यहरू गरी शान्ति सुरक्षालाई असर पर्ने गरी कुनै कार्य नगर्न, राजनीतिक दलको नाम, झन्डा, चुनाव चिन्ह र उम्मेदवारको फोटो अङ्कित पोसाक विक्री वितरण नगर्न तथा त्यस्ता पोसाक लगाएर होली खेल्न निषेध गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

साथै कसैको इच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने वा जबरजस्ती होली खेल्न दबाब दिने जस्ता कार्यहरू नगर्न अनुरोध गर्दै कुनै अवाञ्छित गतिविधि हुन लागेको थाहा पाएमा नजिकको प्रहरी वा १०० मा फोन पनि जिल्लावासीमा अनुरोध गरिएको छ । 

सूचनाको अवज्ञा गरी प्रचलित कानुन, सामाजिक सद्भाव, शान्ति सु-व्यवस्था एवं व्यक्तिगत स्वतन्त्रता विरुद्धका कार्य गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले सूचना मार्फत चेतावनी दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update