रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको त्रिभुवन जनता मावि खलङ्गामा वृत्ति–मार्ग निर्देशन कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ का विद्यार्थीहरूका लागि ६ दिने कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय स्तरमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई वृत्तिसम्बन्धी विभिन्न जानकारी दिई आवश्यक मार्ग निर्देशन गरी भविष्यमा अँगाल्ने पेसा वा वृत्ति छनोट गर्न सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन भएको हो । यो पहिलो वर्ष भएकोले कक्षा ९ का विद्यार्थीहरूका लागि यो कार्यक्रम सञ्चालन भएको शिक्षक तथा यस कार्यक्रमका सहजकर्ता हरिप्रसाद खनालले जानकारी दिनुभयो ।
अब अहिले कक्षा ९ मा रहेका विद्यार्थी अर्को वर्ष कक्षा १० मा पुगेपछि उनीहरूकै लागि यो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । विद्यार्थीहरू सात वटा सत्रमा नियमित सहभागी भएको, सबै कार्यपत्र आफैले भरेको, नबुझेको कुरा वृत्ति–मार्ग निर्देशक शिक्षकलाई सोधेको र आफ्नो अभिभावकलाई अभिभावकको बैठकमा आउन अभिप्रेरित गर्ने उहाँले बताउनुभयो ।
विद्यार्थीहरूले भविष्यमा के गर्ने भनेर योजना नबनाउँदा साथी वा अभिभावकहरूको सुझाव वा दबाबमा उच्च शिक्षाका लागि विषय छनोट गर्दा धेरै विद्यार्थीहरू असफल भएका कारण उनीहरूको क्षमता पहिचान गर्ने र सोही अनुसार उच्च शिक्षाका लागि विषय छनोट गर्न सहज होस भनेर यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो क्षमता पहिचान गर्नुका साथै उक्त क्षमता अनुसार भविष्यमा कस्ता पेसा अँगाल्ने भनेर योजना बनाएको र कुन पेसामा प्रवेशका कुन विषय पढ्नुपर्छ भनेर जानकारी गराइएको अर्का सहजकर्ता शिक्षक तिलक खड्काले बताउनुभयो । विद्यार्थीहरूले साथी तथा शिक्षकलाई नसोधी आफ्नो क्षमता पहिचान गर्नुका साथै पेसा छनोट गरेको उहाँले बताउनुभयो ।
प्रत्येक विद्यार्थीको छुट्टा छुट्टै कार्यपत्र रहेको र अब यी विद्यार्थी कक्षा १० मा पुगेमा पुनः यस बारेमा छलफल हुने र त्यति बेला कुनै विद्यार्थीको क्षमतामा फरकपन आयो भने सोही अनुसार विद्यार्थीले आफ्नो भविष्यको पेसा परिवर्तन गर्न सक्ने शिक्षक खड्काले जानकारी दिनुभयो । अहिले प्रत्येक विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार १ भन्दा बढी पेसा छनोट गरेको उहाँले बताउनुभयो ।
यस कार्यक्रममा त्रिजमाविका कक्षा ९ मा अध्ययनरत ७० जना विद्यार्थी सहभागी भएका थिए । उनीहरूलाई विभिन्न समूहमा विभाजन गरेर कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले जानकारी दिनुभयो । यो कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार भविष्य तय गर्न सहज हुने उहाँको विश्वास छ ।
यो कार्यक्रमका लागि यस वर्ष जिल्लाका २ विद्यालय त्रिजमावि र बाल कल्याण मावि सोलावाङ छनौट भएका थिए । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आयोजना र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा विद्यालयमा वृत्ति–मार्ग निर्देशन कार्यक्रम सञ्चालित छ ।





-1759842583.jpg)