निर्वाचन सफल पार्न सहयोग गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सम्मान गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले फागुन २१ गतेको निर्वाचन सफल पार्न पुर्याएको सहयोगको कदर गर्दै सम्मान गर्नुभएको हो ।
नेपाली सेनाको चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी विनिस श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक जगदीशचन्द्र हमाल र प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणालाई सम्मान गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन उच्च व्यावसायिकता प्रदर्शन गरी पूर्ण अनुशासित भई आफ्नो पदीय जिम्मेवारी प्रति समर्पित रही प्रशासन र अन्य सुरक्षा निकायसँग प्रभावकारी समन्वय गरी समग्र सुरक्षा व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गरेका जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कार्यालयले जनाएको छ ।
सबैलाई सम्मान पत्र प्रदान गरिएको हो । सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी थानीले सुरक्षा निकायको अहम् भूमिकाले जिल्लामा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै उहाँले सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सम्मानित भएपछि जिल्ला सुरक्षा समितिका सदस्य समेत रहेका चार वटै सुरक्षा निकायका प्रमुखहरूले सम्मान गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभएको थियो । उहाँहरूले निर्वाचन सफलताको अनुभव समेत राख्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी थानीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सञ्चालन इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले गर्नुभएको थियो ।





-1759842583.jpg)