Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको पुथाउत्तरगंगामा बृहत् आँखा शिविर हुने

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा आगामी चैत महिनामा बृहत् आँखा शिविर हुने भएको छ । कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, हिमालय आँखा अस्पताल पोखरा, आई कियर फाउन्डेसन र पुथाउत्तरगङ्गा गाउँपालिकाको संयुक्त आयोजनामा मोतिया विन्दु रोगको लागि विशेष आँखा शिविर हुन लागेको कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।

चैत ९ गतेदेखि १५ गतेसम्म गाउँपालिकाका विभिन्न ७ वटा केन्द्रमा आँखाको जाँच हुने छ । जसअन्तर्गत चैत्र १६ र १७ गते तकसेरामा आँखाका बिरामीको अप्रेसन हुने बताइएको छ ।

चैत ९ गते वडा नम्बर ८ को स्वास्थ्य कार्यालय रिबाङचौर, चैत १० गते वडा नम्बर १४ राङ्सीको स्वास्थ्य कार्यालय, चैत ११ गते वडा नम्बर १२ कोलको स्वास्थ्य कार्यालय, चैत १२ गते वडा नम्बर १ मैकोटको स्वास्थ्य कार्यालय, चैत १३ गते वडा नम्बर ५ हुकामको स्वास्थ्य कार्यालय, चैत १४ गते वडा नम्बर ६ को डिम्मुरगैरा र चैत १५ गते वडा नम्बर १० तकसेराको स्वास्थ्य कार्यालयमा पहिलो आँखाको चेकजाँच हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले बताउनुभयो ।

पहिलो चरणको आँखा परीक्षण शिविर पछि तकसेरामा चैत्र १६ र १७ गते अप्रेसन शिविर चल्ने बताइएको छ । आँखा शिविरबाट सयौँ गाउँपालिकावासी लाभान्वित हुने पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष घर्तीले भने–‘यसपालि आँखाको जाँच आफ्नै पायक पर्ने ठाउँमा हुने भएको हुँदा आँखाका बिरामीलाई चेकजाँच गर्न सजिलो हुने भएको छ । मोतिया विन्दुका बिरामी मात्र तकसेरा आउनुपर्ने भएकोले सम्बन्धित बिरामी बाहेक अरूलाई पनि दुःख नहुने भयो ।’ 

यसपालिको आँखा शिविरमा आँखा जाँच गर्ने केन्द्र नजिक हुने भएको हुँदा सयौँ जनता यो कार्यक्रम मार्फत लाभान्वित हुने हुँदा गाउँपालिकावासी हर्षित छन् । तकसेरामा हुने मोतिया विन्दुको अप्रेसनमा हिमालय आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिने कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जनाकारी गराउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update