आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा रुकुम पश्चिमबाट ३ हजार ९ सय २७ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरूबाट ३ हजार ९ सय २७ विद्यार्थी सहभागी हुन लागेका हुन् । जसमध्ये साधारणतर्फ, प्राविधिक र ग्रेड वृद्धि गरेर छात्रा २१ सय १६ र छात्र १८ सय ११ गरेर कुल ३ हजार ९ सय २७ जना विद्यार्थी एसइईमा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका सूचना अधिकारी प्राविधिक सहायक माधवी पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राविधिक तर्फ ९७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । प्राविधिक विषयको पढाई जिल्लाको दुई ठाउँमा सञ्चालन हुने गरेको छ । शीतल माध्यमिक विद्यालय चौरजहारीमा सिभिल इन्जिनियर र राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीमा पशु विज्ञान तर्फको प्राविधिक विषयको पढाइ हुने गरेको छ । त्यस्तै ग्रेड वृद्धि तर्फ यस वर्ष १ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको प्राविधिक सहायक पुनले जानकारी दिनुभयो ।
चार वटा संस्थागत विद्यालय र ७८ सामुदायिक विद्यालय गरी कुल ८२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुने छन् । परीक्षा आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ । परीक्षा सञ्चालन सम्बन्धी तयारी भइरहेको शिक्षा विकास समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)