Kakhara सबैको खबर सम्पूर्ण खबर
पुनद्वारा त्रिवेणीका ३ स्वास्थ्य संस्थामा १० लाख बराबरका स्वास्थ्य सामग्री वितरण हुँदै 

रुकुम पश्चिमका एक व्यक्तिले करिब १० लाख बराबरका स्वास्थ्य सामग्री वितरण सुरु गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का पत्रकार तथा समाजसेवी आनन्द पुनले गाउँपालिकाका ३ वटा स्वास्थ्य संस्थामा औषधि लगायतका स्वास्थ्य सामग्री वितरण सुरु गर्नुभएको छ । 

पुनले पालिकाको वडा नम्बर ४ को खुम्चेरीमा अवस्थित खारा स्वास्थ्य चौकीलाई बिहीबार औषधी सहितका सामग्री वितरण गर्नुभएको छ । स्वास्थ्य चौकीमा आवश्यक पर्ने अति आवश्यक औषधी सहितका सामग्रीहरू उपलब्ध गराएको पुनले बताउनुभयो । 

उक्त कार्यक्रममा पुन सहित गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, वडाध्यक्ष नन्नराम बाँठा लगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री पुनले स्वास्थ्य चौकी प्रमुख कृष्ण ओलीलाई हस्तान्तरण गर्नुभएको थियो । 

अब आइतबार वडा नम्बर ९ को नुवाकोट स्वास्थ्य चौकी र त्यसपछि वडा नम्बर २ को सिम्रुतु स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गर्ने कलाकार समेत रहनुभएका पुनले बताउनुभयो । तीन वटा स्वास्थ्य संस्थामा करिब १० लाख बराबरका सामग्रीहरू वितरण गरिने उहाँले बताउनुभयो । 

आफूले व्यक्तिगत पहलमा उक्त सामग्री स्वास्थ्य संस्थालाई उपलब्ध गराउन लागेको र यसले स्वास्थ्य चौकीबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहजता आउने उहाँले विश्वास गर्नुभयो । 

सरकारले विभिन्न प्रकारका औषधिहरू निःशुल्क गरे पनि स्वास्थ्य संस्थामा नागरिकले सामान्य औषधि समेत निःशुल्क रूपमा पाउन नसकिरहेको अवस्थामा त्यसलाई कम गर्न आफूले औषधी सहितका सामग्री सहयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो । 

समाजसेवी पुनको यो कदमलाई गाउँपालिका सरकार तथा गाउँपालिकावासीले प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update