गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल बागलुङ–रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा लगातार परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
शुक्रबार दिउँसोदेखि सुरु भएको अविरल हिमपातका कारण भूमे गाउँपालिका–१ अन्तर्गतको लुकुम–पातिहाल्ना सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ । सडक अवरुद्ध भएसँगै काठमाडौँबाट छुटेका रात्री बससहित ७ बस, एक जिप र करिब १० मोटरसाइकल सो क्षेत्रमा अड्किएका थिए ।
हिमपातका कारण आज बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म यात्रुहरू चिसो र भोकसँग जुध्दै खुला आकाशमुनि बस्न बाध्य भएका थिए । कठ्यांग्रिने जाडो, बाक्लो हिउँ र अनिश्चितताबीच उनीहरू जोखिमपूर्ण अवस्थामा रहेका थिए ।
यस्तो अवस्थामा भूमे गाउँपालिकाको पहलमा जेसीबी परिचालन गरी यात्रुहरुको उद्धार गरिएको छ । गाउँपालिकाका अनुसार सडक खुलाउने प्रयाससँगै सबै यात्रुलाई सुरक्षित स्थानमा सारिएको छ । हिमपातले सडक पूर्ण रूपमा बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई सुरक्षित स्थानमा पुर्याइएकोे गाउँपालिकाले जनाएको छ ।
पोखराबाट रुकुम पश्चिमको राडि जाँदै गरेकी ात्रु लक्ष्मी शाहीले हिमपातले ठूलो सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘बस बीच बाटोमै रोकियो । धेरै समय चिसोमा बस्नुपर्यो, भोकै थियौं, निकै गाह्रो भयो ।’
मुस्ताङबाट घर फर्किँदै गरेका महेश शाहीले पनि हिमपातका कारण यात्रा निकै कष्टकर बनेको बताएउनुभयो । लगातारको हिमपात र वर्षाका कारण सो क्षेत्रमासञ्चार सेवा समेत प्रभावित बनेको छ । मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन नसकिने बताइएको छ ।
मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध हुने समस्याले यात्रु जोखिममा पर्ने क्रम बढ्दै गएको छ । दीर्घकालीन समाधानतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ ।





-1759842583.jpg)