भारी हिमपातका कारण रुकुम पूर्व र बागलुङको सीमा स्थलमा अवरुद्ध मध्य पहाडी लोक मार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । शुक्रवारबाट भएको हिमपातका कारण सडकमा बाक्लो हिउँ जम्मा हुँदा पातिहाल्ने क्षेत्रमा मध्य पहाडी लोक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । जसका कारण सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका थिए ।
विशेष गरी काठमाडौँबाट रुकुम पूर्व, रुकुम पश्चिम हुँदै डोल्पासम्म जाने रात्रि बस तथा अन्य सवारी साधन उक्त क्षेत्रमा अलपत्र परेका थिए । शनिवार भूमे गाउँपालिकाले जेसिबि पठाएर बाटोमा जमेको हिउँ पन्छाएपछि मध्य पहाडी लोक मार्ग सञ्चालनमा आएको हो ।
रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले शनिवार नै मध्य पहाडी लोक मार्ग सञ्चालनमा आएको र थप हिउँ नपरेपछि अहिले मध्य पहाडी लोक मार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको बताउनुभयो ।
शनिवार केही घण्टासम्म सवारी साधन बिच बाटोमा रोकिएको भए पनि शनिवार साँझबाट भने लोक मार्ग सञ्चालनमा आएको उहाँले बताउनुभयो । लोक मार्ग सुचारुका लागि गाउँपालिकाले डोजर पठाएको थियो भने तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको थियो ।
उक्त टोलीले हिउँ पन्छाएर लोक मार्ग सुचारु गरेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । उच्च भेगमा पर्ने उक्त स्थानमा पटक पटक हिमपातका कारण मध्य पहाडी लोक मार्ग अवरुद्ध हुने गरेको छ । जसका कारण सयौँ यात्रुहरूले सास्ती भोग्न बाध्य छन् ।





-1759842583.jpg)