Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी नदीमा फेला परेको शव बाँफिकोटकी  सपनाको 

रुकुम पश्चिमको मुसिकोट १३ छिवाङस्थित सानीभेरी नदीमा फेला परेको शव बाँफिकोट गाउँपालिका ३ की सपना ओलीको रहेको पुष्टि भएको छ । आज दिउँसो सानीभेरी नदीमा बेवारिसे शव फेला परेको थियो । उक्त शव गत फागुन २५ गते देखि हराइरहेकी बाँफिकोट गाउँपालिका ३ की १३ बर्सिया सपनाको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सपनाका बुवाले उक्त शवको पहिचान गरेका हुन् । शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पतालको पोस्टमार्टम गृहमा राखिएको डिएसपी पौडेलले बताउनुभयो । सपना सहित तीन जना सानीभेरी नदीमा बगेका थिए । उनीसँगै बगेका १४ बर्सिया उर्मिला ओली र १२ बर्सिया कल्पना ओलीको शव भने फागुन २६ गते फेला परेको थियो ।

बाँफिकोट गाउँपालिका ३ स्थित भाग्लेमा उक्त दुई दिदी बहिनीको शव फेला परेको थियो । तर सपना भने बेपत्ता थिइन । प्रहरी र परिवारले खोजी गर्दा पनि उनेको अवस्था पत्ता लाग्न सकेको थिएन । उनी आज मुसिकोट छिवाङस्थित सानीभेरी नदीमा फेला परेकी हुन् । उनीहरू बगेको भनिएको ठाउँ भन्दा निकै तल सपनाको शव फेला परेको हो । 

मुसिकोट नगरपालिका वडा नम्बर १ भलखोला विवाहमा आएका उनीहरू फर्किने क्रममा सानीभेरी नदीमा बगेको प्रहरीले जनाएको छ । नजिकै झोलुङ्गे पुल भए पनि उनीहरूले जँघारबाट सानीभेरी नदी तर्न खोज्दा बगेको देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update