जेन–जी आन्दोलनको फाइदा उठाएर फरार रहेका मध्ये रुकुम पश्चिममा अझै १७ जना कैदी बन्दी कारागार बाहिरै छन् । गत भाद्र २४ गते कारागार तोडेर भागेका ८८ जना कैदी बन्दी मध्ये १७ जना कैदी बन्दी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फरार मध्ये ७१ जना पक्राउ परेका छन् । ती मध्ये केही आफै कारागार फर्किएका हुन भने अधिकांशलाई प्रहरीले पक्राउ गरेको हो ।
‘हामीले फरार भएकै दिन देखि खोजी जारी राखेका छौँ, केहीलाई सोही दिन पक्राउ गरेर कारागार फिर्ता ल्याइएको थियो, त्यसपछि केही आफैँ पनि फर्किनुभयो, धेरैलाई हामीले पक्राउ गरेका हौँ, १७ जना फरार नै हुनुहुन्छ, खोजी जारी छ,’ उहाँले भन्नुभयो ।
फरार कैदी बन्दीहरूलाई सम्पर्कमा आउन प्रशासन र प्रहरीले पटक पटक सूचना मार्फत आह्वान समेत गरेका थिए । पछिल्लो तथा अन्तिम पटकका लागि भन्दै असोज १२ देखि २० गतेसम्म दिइएको समयमा पनि जम्मा ५ जना मात्र कैदी बन्दी सम्पर्कमा आएका थिए ।
आफैँ सम्पर्कमा नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन अनुसार थप कारबाही हुने चेतावनी दिँदा पनि सबै कैदी बन्दी फर्किएका छैनन् । भने फरार भएको झन्डै ६ महिनासम्म प्रहरीले सबै फरार कैदी बन्दीलाई पक्राउ गर्न सकेको छैन । जसका कारण समाजमा सन्त्रासको वातावरण समेत छ ।
फरार कैदी बन्दीको खोजीलाई प्रमुखता दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । फरार भएका कैदी बन्दी कहाँ छन् भनेर खोजी भइरहेको बताउँदै उहाँले महत्त्वपूर्ण सूचना प्राप्त भएको भन्दै उनीहरूलाई पक्राउका लागि प्रहरी टोली खटिएको बताउनुभयो ।
केही दिनमै देखिने गरी काम भइरहेको उहाँको भनाई छ । कारागारबाट भागेर फरार भएका मध्ये केही भारतसम्म पुगेको र केही देशकै विभिन्न ठाउँमा लुकेर बसेको सूचनाहरू आइरहेको उहाँले जानकारी गराउनुभयो ।
गम्भीर अपराधमा समेत सजाय भोगिरहेका कैदी बन्दी फरार रहेकोले समाजमा आपराधिक गतिविधि बढ्न सक्ने जोखिम छ । जेन–जी आन्दोलनको मौका पारेर देशभरका विभिन्न कारागारबाट हजारौँ कैदी बन्दी जेल तोडेर भागेका थिए ।





-1759842583.jpg)