Kakhara सबैको खबर सम्पूर्ण खबर
फेसबुकको आम्दानीबाट विपन्न परिवारलाई सहयोग 

रुकुम पश्चिमका तीन युवाले एक विपन्न परिवारलाई सहयोग गरेका छन् । जिल्लाको सानीभेरी गाउँपालिका ३ भलाचौरका अमृत केसीले फेसबुकमा भएको आम्दानीबाट स्थानीय लीला विष्ट पुनको परिवारलाई सहयोग गर्नुभएको हो ।

उहाँ सहित लोकेन्द्रप्रकाश ओली र प्रचण्ड ओली गरी तीन जनाले सहयोग गर्नुभएको हो । प्रचण्ड वैदेशिक रोजगारीका लागि मलेसियामा हुनुहुन्छ भने लोकेन्द्र अमेरिकामा हुनुहुन्छ ।

श्रीमानको मृत्यु भइसकेकी लीलाको परिवारलाई दैनिक जीवनयापनका लागि सहयोग होस भनेर सहयोग गरिएको केसीले जानकारी दिनुभयो । आफूले फेसबुकमा कन्टेन्ट क्रियटरका रूपमा काम गर्दा भएको आम्दानीबाट सहयोग गरेको उहाँले बताउनुभयो ।

आफू सहित वैदेशिक रोजगारीमा रहेका अन्य २ जनाले समेत लीलाको परिवारलाई सहयोग गरेको उहाँको भनाई छ । श्रीमानको मृत्यु भएपछि परिवार चलाउने जिम्मा लीलाको काँधमा छ । लीलाका २ छाेराहरु रहेका छन् । आर्थिक रूपमा विपन्न उक्त परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरिएको उहाँले बताउनुभयो ।

घरमै पुगेर सहयोग स्वरूप १४ हजार ५ सय १० रुपैयाँ सहयोग गरिएको केसीले जानकारी गराउनुभयो । केसी फेसबुकमा कन्टेन्ट क्रियट गरिरहनुभएको छ । सानै उमेरमा उहाँले सिर्जना गरेका विषयवस्तु दर्शकले रुचाइरहेका छन् । जसबाट उहाँले आम्दानी गरिरहनुभएको छ ।  

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update