Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा ३ दिने व्यवसाय योजना तथा उद्यम विकास तालिम सम्पन्न

रुकुम पश्चिम चौरजहारीमा ३ दिने व्यवसाय योजना तथा उद्यम विकास तालिम सम्पन्न भएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) द्वारा सञ्चालित राइज–अप परियोजना अन्तर्गत चौरजहारी नगरपालिकामा ३ दिने व्यवसाय योजना तथा उद्यम विकास सम्बन्धी तालिम सम्पन्न भएको हो । अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।

राइज–अप परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस परियोजनाले सीप विकास, आयमूलक तालिम तथा सामाजिक समावेशीकरणमा विशेष जोड दिँदै आएको अधिकृत जैसीले बताउनुभयो ।

तालिमको पहिलो दिन व्यवसायको आधारभूत अवधारणा, स्थानीय स्रोतको पहिचान, लागत–मूल्य–नाफा सम्बन्धी जानकारी तथा व्यवसायको आधारभूत मोडेलबारे सहजीकरण गरिएको थियो ।

दोस्रो दिन बजार विश्लेषण, लक्षित ग्राहक पहिचान, प्रतिस्पर्धी विश्लेषण, व्यवसाय छनोट प्रक्रिया तथा व्यवसाय योजना लेखन सम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो ।

तेस्रो दिन डु नट हार्म सिद्धान्तअनुसार सुरक्षित व्यवसाय सञ्चालन, व्यवसाय योजना अभ्यास, वित्तीय साक्षरता, बचत तथा लगानी सम्बन्धी जानकारी तथा सहभागीहरूको प्रस्तुति सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सहजीकरण मानव विकास तथा सामुदायिक सेवामा कार्यरत सविन पुरी, मनोज केसी, विष्णु पुन र नरबहादुर खड्काले गर्नुभएको थियो ।

तालिममा सहभागीहरूले सिकेको ज्ञान आगामी दिनमा प्रयोग गरी सानो तथा घरेलु व्यवसाय सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । यस्ता तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तथा आत्मनिर्भर बन्न महत्त्वपूर्ण सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update