रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ पिपल रुख नजिक भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । आज दिउँसो यातायात कार्यालय देखि भेरी खोलातर्फ जाँदै गरेको सु.प्र. ०१००२ नम्बरको ट्याक्टर र स्यालखोला देखि बजारतर्फ आउँदै गरेको क.प्र ०३००१ प ०३१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक चौरजहारी ३ स्यालाखोलाका ४२ वर्षीय गोविन्द पोखरेल र मोटरसाइकल पछाडि बसेकी सोही स्थानकी ३५ बर्सिया जमुना पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते चालक पोखरेलको टाउको, छाती र खुट्टामा चोट लागेको र पुनको दुवै खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।





-1759842583.jpg)