रुकुम पश्चिममा चालु आर्थिक वर्षमा २ हजार १ सय २३ वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन देखि हालसम्म उक्त सवारी साधन कारबाहीमा परेका छन् ।
सवारी कारबाहीबाट साढे १८ लाख राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट झन्डै साढे ९ महिनामा १८ लाख ५७ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका प्रमुख नवीन अधिकारीले जानकारी दिनुभयो ।
फागुन मसान्त सम्म २ हजार ८३ सवारी साधन कारबाहीमा परेकामा चैत्र महिनाको हालसम्म ४० वटा सवारी साधन कारबाहीमा परेको उहाँले बताउनुभयो । फागुनसम्म १८ लाख १६ हजार राजस्व सङ्कलन भएकोमा चैत्र महिनामा ४१ हजार राजस्व सङ्कलन भएको उहाँको भनाई छ ।
यो अवधिमा सबैभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल कारबाहीमा परेका परेका छन् । १ हजार १ सय ७ वटा मोटरसाइकल कारबाहीबाट सबैभन्दा बढी ९ लाख २३ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
जिप, कार ४ सय १९ बाट ३ लाख ८८ हजार, अटो र अन्य २ सय २४ वटाबाट १ लाख ८१ हजार, बस, मिनिबस १ सय ३३ वटाबाट १ लाख ४९ हजार ५ सय, ट्रक, टिप्पर १ सय २४ वटाबाट १ लाख २० हजार र १ सय १८ वटा ट्याक्टर कारबाहीबाट ९५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको अधिकारीले जानकारी गराउनुभयो ।
सवारी चालक अनुमति पत्र सहित सवारी धनी कागजात नभएका तथा नवीकरण नभएका, तीव्र गति, क्षमता भन्दा बढी यात्रु तथा सामान बोक्ने, रुट परमिट नभएका, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरू कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीको भनाई छ ।
जिल्लामा ट्राफिक सचेतना कम भएकोले सडक असुरक्षित बनेको समेत ट्राफिक प्रहरीको भनाई छ । यसलाई मध्यनजर गर्दै जिल्लामा ट्राफिक सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
विद्यालय देखि सडकमै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालनका साथै छड्के र नियमित अनुगमनहरू भइरहेको उहाँले बताउनुभयो । जिल्लामा साँघुरा सडक र सवारी साधन संख्या बढ्नु सडक सुरक्षाका चुनौतीका रूपमा रहेको ट्राफिक प्रहरीको भनाई छ ।





-1759842583.jpg)