Kakhara सबैको खबर सम्पूर्ण खबर
भाइको काजकिरिया सकेर दाङ गएका गोपालले श्रीमतीको हत्या गरे

दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजाैरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का ३४ वर्षीय गोपाल ओलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्सिया श्रीमती कमला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो ।

बिहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । ओली सरकारी कर्मचारी रहेको खुलेको छ । गोपाललाई प्रहरीले नियन्त्रण लिइसकेको छ ।

घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ । गोपाल भाइको काजकिरिया सकेर दाङ फर्किएका थिए । उनका भाइ महेन्द्र ओलीले चैत्र १ गते रुकुम पश्चिमको मुसिकोट १ को खलङ्गा र सल्ले जोड्ने बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए ।

वन कार्यालय बिरगंजमा लेखा अधिकृतका रूपमा कार्यरत ओली भाइको काजकिरिया सकेर दाङ फर्किएर श्रीमतीको हत्या गरेका हुन् । उनीहरू दाङमा बस्दै आएका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update