Kakhara सबैको खबर सम्पूर्ण खबर
नयाँ सरकार बनेको खुसीयालीमा केसीद्वारा बुद्ध भूमि आश्रमलाई सहयोग 

हाल अमेरिकामा रहेका एक व्यक्तिले नयाँ सरकार गठन भएको खुसीयालीमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पु घर भई अमेरिकाको टेक्ससमा बस्दै आउनुभएका सुरेश केसीले मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको बुद्ध भूमि मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको हो । 

उहाँले भाइ सुनिल केसी तथा बुहारी ममता श्रेष्ठ मार्फत आश्रमलाई खाद्यान्न र नगद सहयोग गर्नुभयो । केसीले ११ हजार बराबरको चामल दाल लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो भने आश्रमको भवन निर्माणका लागि ९ हजार नगद सहयोग गरेको भाइ सुनिल केसीले जानकारी दिनुभयो । 

आश्रमका अध्यक्ष खम्मप्रसाद जैसीलाई आश्रममै पुगेर उक्त सामग्री र नगद सहयोग हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा सुनिल केसी, ममता श्रेष्ठ, ईश्वर रावल, देवकुमार ओली, मनिष खड्का लगायतको उपस्थिति रहेको थियो । आश्रममा हाल संरक्षण विहीन १२ जना व्यक्तिहरू आश्रय लिएर बसिरहेका छन् । 

आश्रमले अभिभावक विहीन, संरक्षण विहीन सडक मानवहरूलाई आश्रममा आश्रय दिइरहेको छ । सहयोग संकलन गरेर आश्रमको भवन निर्माण समेत भइरहेको अध्यक्ष जैसीले जानकारी दिनुभयो । हाल आश्रम रहेको नजिकै भवन निर्माणको काम सुरु भएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update