Kakhara सबैको खबर सम्पूर्ण खबर
शक्ति र सत्ताको दुरुपयोग गर्दै द्वन्द्व सिर्जना गर्न पाइँदैन: एमाले रुकुम पश्चिम 

नेकपा एमाले रुकुम पश्चिमले पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको घटनामा विरोध जनाएको छ । जिल्ला अध्यक्ष नन्दराम देवकोटाले आज एक विज्ञप्ति जारी गर्दै ओलीप्रति लक्षित भई प्रतिशोधपूर्ण ढङ्गले अघि बढाइएको गतिविधि र निर्णयप्रति पार्टीको स्पष्ट असहमति र कडा आपत्ति रहेको जानकारी गराउनुभएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्वाग्रही भएको भन्दै एमाले रुकुम पश्चिमले यो प्रतिवेदन तत्काल खारेज गर्न र मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिन माग गरेको छ । 

पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न, मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिन, सम्पूर्ण घटनाको निष्पक्ष, स्वतन्त्र र व्यापक छानबिन गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै पार्टीले शक्ति र सत्ताको दुरुपयोग गर्दै समाजमा आतङ्क र द्वन्द्व सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ । शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढ्नु नै आजको आवश्यकता हो । अन्यथा देश पुनः दीर्घकालीन द्वन्द्वतर्फ धकेलिन सक्ने खतरा रहेकोतर्फ हामी सबैलाई सचेत गराउन चाहन्छौँ, एमाले रुकुम पश्चिमले भनेको छ ।

बालबालिकालाई जबरजस्ती आन्दोलनमा उतार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने तथा देशमा अस्थिरता सिर्जना गर्ने कार्यमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याइनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा रहेको भन्दै अध्यक्ष देवकोटाले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सन्देहास्पद आर्थिक स्रोतहरूको समेत गहिरो अनुसन्धान हुन जरुरी रहेको बताइएको छ ।

कार्की आयोगले एकपक्षीय र वास्तविक घटनालाई ओझेलमा पार्ने उद्देश्यले ल्याएको एमाले रुकुम पश्चिमको ठहर छ । भदौ २३ र २४ गते भएका आगजनी, तोडफोड तथा व्यक्ति हत्याजस्ता गम्भीर घटनालाई उपेक्षा गर्दै सीमित व्यक्तिहरूलाई मात्र दोषारोपण गर्नु न्यायसङ्गत होइन नभएको पनि उसले उल्लेख गरेको छ । 

सरकारको यस प्रकारका कदमहरूले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा राजनीतिक संस्कृतिमाथि गम्भीर आघात पुर्‍याएको भन्दै नेकपा एमाले रुकुम पश्चिमले आपत्ति समेत जनाएको छ । कार्की आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि आन्दोलन भइरहेका छन् ।।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update