Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमलाई विपत् प्रतिकार्यका सामग्री प्राप्त 

जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमलाई विपत् प्रतिकार्यका सामग्री प्राप्त भएकाे छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)द्वारा रुकुम पश्चिम र जाजरकोटका ५ पालिकामा सञ्चालित जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रहरूमा जीविकोपार्जन सुधार र विपत् उत्थानशीलता सुदृढीकरण परियोजना मार्फत आज जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमलाई खोज तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्रीहरू प्राप्त भएकाे हो । 

जिल्लाकाे आवश्यकता अनुसार आगलागी तथा बाढीका घटना भएमा खोज तथा उद्धारका लागि प्रयोग हुने सामग्रीहरूका लागि जिल्ला प्रशासन कार्यालयले युएनडिपी समक्ष पहल गरेकाे र साेही अनुसार सामगरि प्राप्त भएकाे जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयाे ।

परियोजना संयोजक बिना खड्काका अनुसार रबरको डुङ्गा, लाइफ ज्याकेट, डोरी, कटर, आगो निभाउन प्रयोग हुने सामग्रीहरू प्रदान गरिएको हो । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उक्त सामग्री प्रयोग सम्बन्धी तालिम समेत प्रदान गरिएको छ । नेपाली सेनाका पूर्व प्रमुख सेनानी रामहरि केसीले सामग्री प्रयोग सम्बन्धी तालिम दिनुभएको हो । 

परियोजना संयोजक खड्का सहित परियोजनामा कार्यरत टोलीले प्रमुख जिल्ला अधिकारी थानीलाई उक्त सामग्रीहरू प्रशासनमा भएको एक कार्यक्रम मार्फत हस्तान्तरण गरेकाे हो । 

प्रमुख जिल्ला अधिकारी थानीले जिल्लामा हुनसक्ने विपत्का घटनामा प्रयोग हुने सामग्री प्राप्त भएपछि भविष्यमा हुने विभिन्न खालका विपत्का घटनामा खोज तथा उद्धारका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

udhar-samagri-1774784811.jpg
जिल्लामा रबर बोट नहुँदा बाढी तथा नदीमा हुने विपत्का घटनामा खोज तथा उद्धारमा समस्या भइरहेकोमा प्रशासनकाे पहलमा पहिलो पटक रबर बोट सहितका सामग्री प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभयो । सामग्रीको अभावमा खोज तथा उद्धार प्रभावित हुँदै आएकोमा अब भने सहज हुने उहाँको भनाई छ । 

उहाँले आफूहरूकाे पहलमा सामग्री सहयोग गरेकोमा परियोजनालाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानी सहित प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेबबहादुर राना, परियोजना संयोजक खड्का लगायतको उपस्थिति रहेको थियो । 

आजै सानीभेरी गाउँपालिकालाई पनि विपत् प्रतिकार्यका सामग्रीहरू हस्तान्तरण गरिएको परियोजना संयोजक खड्काले जानकारी गराउनुभयो । स्थानीय आपत्कालीन सञ्चालन केन्द्रलाई सामग्रीहरू हस्तान्तरण गरिएको उहाँको भनाई छ । 

त्यस्तै परियोजना लागु भएका रुकुम पश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई विपत् प्रतिकार्यका सामग्रीहरू प्रदान गरिएको उहाँले बताउनुभयो । यो परियोजना २०८० कार्तिक १७ गतेको भूकम्पबाट बढी प्रभावित जाजरकोटका तीन भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालित रहेको उहाँले बताउनुभयो । 

त्यस्तै रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा यो परियोजना कार्यान्वयनमा रहेको उहाँको भनाई छ । उहाँका अनुसार यस परियोजना मार्फत भूकम्प पछिको पुनर्स्थापना अन्तर्गत जीविकोपार्जन, पूर्वाधार निर्माण, विपत् पूर्व तयारी तथा प्रतिकार्य र मानसिक परामर्शका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update