रुकुम पश्चिमको मुसिकोट नगरपालिकालाई एक परियोजना हस्तान्तरण गरिएको छ । कन्भेन्ट वर्ल्ड रिलिफ एन्ड डभलपमेन्टको आर्थिक सहयोग तथा मुसिकोट नगरपालिकाको साझेदारीमा नेपाल ख्रिस्टीय सेवाले सञ्चालन गरेको सामुदायिक दिगो विकाससँगै उद्यमशीलता तथा खानेपानी तथा सरसफाइ परियोजना आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नगर कार्यपालिकाको सभा हलमा एक कार्यक्रमका बिच संस्थाका कार्यकारी निर्देशक रुबी केसीले नगर प्रमुख महेन्द्र केसीलाई परियोजना हस्तान्तरण गर्नुभयो । १ वर्षे यस परियोजना मार्फत मुसिकोट नगरपालिकामा बालमैत्री धारा निर्माण र आंशिक शौचालय मर्मत, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक तालिम र व्यावसायिक उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
सामुदायिक पुस्तकालय निर्माणको काम भने जारी रहेको कार्यकारी निर्देशक केसीले जानकारी गराउनुभयो । यो परियोजना विशेष गरी सरसफाइ र उद्यम विकाससँग सम्बन्धित रहेको उहाँले बताउनुभयो । परियोजना मार्फत मुसिकोट नगरपालिकामा १ वर्षमा कुल ५१ लाख ८ हजार ४ सय २५ रुपैयाँ खर्च भएको परियोजना हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको छ ।
कुल बजेट भने ५३ लाख १६ हजार ८ सय ९४ रुपैयाँ रहे पनि ९७ प्रतिशत बजेट खर्च भएको बताइएको छ । कार्यकारी निर्देशक केसीका अनुसार परियोजना मार्फत मुसिकोट नगरपालिकाका २ वटा विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको छ भने स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन भएका छन् ।
त्यस्तै युवाहरूलाई लक्षित गरी व्यावसायिक उद्यमशीलता सम्बन्धी तालिम समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो । परियोजना हस्तान्तरण सँगै सामाजिक लेखा परीक्षण कार्यक्रम समेत सम्पन्न गरिएको परियोजना अधिकृत मदन बुढाले जानकारी दिनुभयो ।
परियोजनाको बजेट, खर्चको अवस्था, परियोजना सञ्चालनका चुनौती, सिकाई र उपलब्धिका बारेमा सरोकारवाला तथा लाभग्राहीहरूलाई जानकारी गराइएको उहाँले बताउनुभयो । कार्यक्रमका सरोकारवालाहरूले यो परियोजना उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका थिए ।

लाभग्राहीहरूले यस परियोजनाले उद्यमशीलता विकासमा टेवा पुर्याएको र विद्यालयमा सहजताका साथै स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना बढेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले यस परियोजना सञ्चालनका लागि नगरपालिकाकाले राम्रोसँग समन्वय गरेको र परियोजनाले लाभ पुर्याएको बताउनुभयो ।
यो परियोजना निरन्तरताको आवश्यकता रहेकोले यस तर्फ नगरपालिकाले ध्यान दिने र आगामी दिनमा पनि यस्ता परियोजनाहरूका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले यस परियोजनाले नागरिकको चेतना स्तर वृद्धिमा टेवा पुगेको भन्दै उद्यम विकासमा पनि सहयोग पुगेको बताउनुभयो ।
यस परियोजनाको कुल अवधि ३ वर्षको रहेकोमा त्रिवेणी गाउँपालिकामा २ वर्ष र मुसिकोट नगरपालिकाका १ वर्ष सञ्चालन भएको बताइएको छ । नेपाल ख्रिस्टीय राहत सेवाका उपाध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रुबी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रगति विवरण परियोजना अधिकृत मदन बुढाले पेस गरेकोमा आर्थिक विवरण भने बविता राईले राख्नुभएको थियो ।





-1759842583.jpg)