Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एसइईको तयारी पूरा, झन्डै ४ हजार विद्यार्थी सहभागी हुँदै 

पर्सि चैत १९ गते बिहीबार देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी रुकुम पश्चिममा पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार एसइईको सबै तयारी पूरा भएको छ । केन्द्राध्यक्ष, निरीक्षकको व्यवस्थापन देखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित केन्द्रमा पुर्याउने देखि सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको छ भने प्रश्न पत्र सम्बन्धित केन्द्रको क्षेत्रमा पर्ने प्रहरी चौकीमा राखिएको छ । पर्सी बिहान ८ बजेबाट सुरु हुने एसइईमा रुकुम पश्चिमबाट झन्डै ४ हजार परीक्षार्थी सहभागी हुन लागेको पुनले बताउनुभयो । जिल्लाभरबाट यस वर्ष ३ हजार ९ सय २७ विद्यार्थी सहभागी हुने उहाँको भनाई छ । 

जिल्लाका विभिन्न १६ वटा  परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । कुल परीक्षार्थी मध्ये साधारणतर्फ, प्राविधिक र ग्रेड वृद्धि गरेर छात्रा २१ सय १६ र छात्र  १८ सय ११ गरेर कुल ३ हजार ९ सय २७ जना विद्यार्थी एसइईमा सहभागी  हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुनले जानकारी गराउनुभयो ।

उहाँका अनुसार प्राविधिक तर्फ ९७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । प्राविधिक विषयको पढाई जिल्लाको दुई ठाउँमा सञ्चालन हुने गरेको छ । 

शीतल माध्यमिक विद्यालय चौरजहारीमा सिभिल इन्जिनियर र राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीमा पशु विज्ञान तर्फको प्राविधिक विषयको पढाइ हुने गरेको छ । त्यस्तै ग्रेड वृद्धि तर्फ यस वर्ष १ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको इकाई प्रमुख पुनले जानकारी दिनुभयो ।

चार वटा संस्थागत विद्यालय र ७८ सामुदायिक विद्यालय गरी कुल ८२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुने छन् । परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update