Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षाः रुकुम पश्चिममा ६७ जना परीक्षार्थी अनुपस्थित, उत्तर पुस्तिका परीक्षण सुरु

माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट देशभरमा सुरु भएको छ । आज पहिलो दिन बिहान ८ बजेबाट ११ बजेसम्म अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । रुकुम पश्चिममा शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । 

जिल्लाभरका १६ वटा परीक्षा केन्द्रमा एसइई परीक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो दिन जिल्लाका सबै परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन भएको छ । 

जिल्लामा पहिलो दिनको परीक्षामा ६७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षा फारम भरेका मध्ये ३२ जना छात्रा र ३५ जना छात्र अनुपस्थित रहेको उहाँले बताउनुभयो । जिल्लामा एसइईमा सहभागीताका लागि कुल ३ हजार ९ सय २७ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । 

जसमध्ये छात्रा २ हजार १ सय १६ र छात्र १ हजार ८ सय ११ रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । साधारण तर्फ २८ छात्रा र ३१ छात्र तथा ग्रेड वृद्धि तर्फ ४ जना छात्र र ४ जना छात्रा अनुपस्थित भएको इकाई प्रमुख पुनको भनाई छ । 

त्यस्तै प्राविधिक धार तर्फ भने छात्र तर्फ सबै ५२ र छात्रा तर्फ सबै ४५ जना नै परीक्षामा सहभागी भएको उहाँले बताउनुभयो । जिल्लामा साधारण तर्फ ३ हजार ६ सय ८७, प्राविधिक धार तर्फ ९७ जना र ग्रेडबृद्धि तर्फ १ सय ४३ जना विद्यार्थीले परीक्षामा सहभागिताका लागि आवेदन दिएका थिए ।

उत्तरपुस्तिका परीक्षण सुरु
यसैविच सरकारले गरेको नयाँ व्यवस्था अनुसार रुकुम पश्चिममा पनि उत्तर पुस्तिका परीक्षण सुरु भएको छ । सरकारले छिटो नतिजा सार्वजनिक गर्ने गरी सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गर्ने निर्णय गरे अनुसार आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सकिएसँगै उत्तर पुस्तिका जाँच सुरु भइसकेको इकाई प्रमुख पुनले बताउनुभयो । 

परीक्षा केन्द्र रहेका विद्यालयहरूले उत्तर पुस्तिका परीक्षणका लागि यसअघि नै रोष्टर शिक्षक छनोट गरिसकेको उहाँको भनाई छ । उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै जाँच गरेर उक्त उत्तर पुस्तिका र नतिजा शिक्षा विकास तथा समन्वय इकाई मार्फत परीक्षा नियन्त्रण कार्यालयमा पठाइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update