Kakhara सबैको खबर सम्पूर्ण खबर
लागु औषध नियन्त्रण सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले लागु औषध विरुद्ध जनचेतना जगाउन जिल्लास्थित क्रियाशील पत्रकारहरूसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण गरिएको हो । लागु औषध नियन्त्रण सम्बन्धी  जिल्लामा ३ महिने अभियान सञ्चालन हुने  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जस अन्तर्गत लागु औषध नियन्त्रण सम्बन्धमा सरोकारवालासँग बैठक बस्ने, लागु औषध नियन्त्रण गर्न स्थानीय तहमा संयन्त्र गठन गरी क्रियाशील बनाउने, अवैध कारोबार तथा निकासी नियन्त्रणको लागि अन्तर जिल्ला समन्वय गर्ने लागु औषधको खेती र उत्पादन नियन्त्रण गर्ने लगायतका कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

त्यस्तै लागु औषध खेती हुनसक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी उत्पादनको प्रारम्भिक विन्दुबाट नै खेती नष्ट गर्ने, उत्पादन हुनसक्ने स्थानहरूको पहिचान गरी आपूर्तिको प्रारम्भिक विन्दुमा बरामद गरी नष्ट गर्ने, लागु औषधको दुर्व्यसन नियन्त्रण गर्ने, प्रत्येक वडामा जनजागरण कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो ।

लागु औषध विरुद्ध सचेतनामूलक कार्यक्रम, सडक नाटक र लागु औषध नष्ट गर्ने लगायतका काम पनि हुने उहाँले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा लागु औषध नियन्त्रणका लागि मिडिया मार्फत जनचेतना जगाउने, अभियानको मर्म र आमसञ्चारकर्मीहरूको सामाजिक दायित्व समेतलाई दृष्टिगत गर्दै लागु औषध विरुद्धको अभियानमा सबै सञ्चारकर्मीहरू आ–आफ्नो स्थानबाट सक्रियता पूर्वक क्रियाशील भएर सहयोग गर्न पनि प्रजिअ थानीले आग्रह गर्नुभएको छ । 

कार्यक्रममा सहभागी पत्रकारहरूले अभियानमा मात्र सीमित नभई नियमित रूपमा लागु औषध नियन्त्रणका लागि क्रियाशील हुनुपर्ने सुझाव दिएका थिए । त्यस्तै  जिल्लामा विशेष गरी अफिमको उत्पादन बढी हुने भन्दै यसको उत्पादन गर्नेलाई कारबाही, उत्पादित लागु औषध नष्ट, निकासीमा कडाइ तथा सेवनमा पनि रोक लगाउन चनाखो भएर लाग्नुपर्ने सुझाव पत्रकारहरूले दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जिल्लामा लागु औषध सेवनको अवस्था, उत्पादनको अवस्था, लागु औषध सेवनले पार्ने असर तथा कानुनी व्यवस्थाका बारेमा जानकारी बनाउनुभएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update