स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमबाट निस्किने फोहोरमैला व्यवस्थापन गर्न छलफल गरिएको छ । आज अस्पताल विकास समिति, स्वास्थ्य सेवा कार्यालय र रुकुमेली समाज विकास केन्द्र विच अस्पतालबाट निस्किने फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धी छलफल भएको हो । अस्पतालबाट निस्किने फोहोरमैला व्यवस्थापनलाई दिगो बनाउने उदेश्यले अस्पताल विकास समिति र स्वास्थ्य सेवा कार्यालय विच छलफल गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य सेवा कार्यालयमा फोहोरमैला व्यवस्थापनलाई दिगो बनाउन मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तरर्गत काम भइरहेको छ । छलफलका क्रममा परियोजनाको हालसम्म भएको प्रगति समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने विषयमा पनि छलफल भएको कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो ।
सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत जिल्लाका तीन स्थानीयतहमा पनि काम गर्न लागिएको उहाँको भनाई छ । अस्पताल विकास समिति, स्वास्थ्य सेवा कार्यालयको समन्वय, सहकार्य र प्रतिबद्धतामार्फत स्वास्थ्य क्षेत्रको दिगो सुधारतर्फ अघि बढ्ने दृढ संकल्प गरिएकाे रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले जनाएको छ । उक्त संस्थाले जिल्लामा विभिन्न परियोजना मार्फत काम गर्दै आएको छ ।





-1759842583.jpg)