रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा हायस गाडी र अटो ठोक्किँदा ८ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सोलाबाङमा गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घाइते हुनेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँ बस्ने अटो चालक २८ वर्षीय अर्जुन केसी, आठबिसकोट नगरपालिका ८ चुर्तिपाखा निवासी २२ बर्सिया विमला बोहरा र सोही स्थानका अबिर महताराका छोरा ९ वर्षीय प्रवेश महतारा रहेका छन् ।
त्यस्तै आठबिसकोट ८ दाजेका ३२ बर्सिया सीता देवकोटा, उहाँकी ८ बर्सिया छोरी स्मारिका देवकोटा र सोही स्थान बस्ने तारा देवकोटाका ९ वर्षीय छोरा शिव देवकोटा पनि घाइते हुनुभएको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।
त्यसैगरी बाँफिकोट गाउँपालिका ३ भाग्ले निवासी २६ बर्सिया गीता देवकोटा र उहाँकी ५ बर्सिया छोरा एन्जिला देवकोटा पनि दुर्घटनामा परेर घाइते भएको उहाँको भनाई छ ।
घाइते मध्य विमला बोहराको टाउकोमा चोट रहेकोले अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा लिइएको छ । हायस चालक रुकुम पूर्वको भुमे गाउँपालिका ३ निवासी ४८ वर्षीय लालबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दाङबाट रुकुम पूर्वका लागि आउँदै गरेको बा.प्र. ०६–००१ ख ०१४६ नम्बरको फोर्स गाडी र खलंगाबाट सोलाबाङतर्फ जाँदै गरेको लु.प्र. ०२-००१ ह १३७८ नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
गाडी र अटो ठोक्किँदा अटो सडकबाट ३० मिटर तल खसेको बताइएको छ । हायसमा पनि क्षति पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





-1759842583.jpg)