रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सञ्चालनमा रहेको जिल्लाको पहिलो रेडियो सानीभेरी एफ.एम १९ वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्रद्वारा २०६४ साल चैत्र २५ गतेबाट सञ्चालनमा आएको रुकुमको पहिलो सामुदायिक रेडियो सानीभेरी आजबाट १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको हो ।
कर्णाली र लुम्बिनी प्रदेश सहितका १५ बढी जिल्लामा रेडियोको पहुँच रहेको छ । रेडियोले स्थापनाकाल देखि नै समाचार, सूचना, मनोरञ्जनजन्य कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको छ ।
सञ्चार माध्यमको तर्फबाट नागरिकको अभिमत अनुरूप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तीव्रता दिई समाजवादको आधार तयार गर्न तथा सङ्घीयताको सबल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिँदै आएको छ ।
साथै अनियमितताको सशक्त भण्डाफोर गरी सुशासन कायम गर्ने कार्यलाई निरन्तरता दिने रेडियोले जनाएको छ । यसका अलावा सामाजिक परिवर्तन, मौलिक कला संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरूको प्रस्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरू पनि जारी रहने रेडियोको भनाई छ ।
साथै मोफसलका मिडियाहरू सङ्कटमा रहेको भन्दै सरकारले मिडियाहरूको संस्थागत विकासका लागि नीतिगत रूपमै व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । लोकतन्त्रको मजबुतका लागि सशक्त मिडियाको आवश्यकता भएको भन्दै रेडियोले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएको छ ।
त्यस्तै रेडियोले १८ वर्ष पुरा गरी १९ वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्ण श्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेको छ ।





-1759842583.jpg)