Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले मनायो स्वर्ण जयन्ती 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा स्थापना भएको रुकुम शाखाले आज स्वर्ण जयन्ती मनाएको हो । शाखा कार्यालय मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी रेडक्रस रुकुम पश्चिमले स्वर्ण जयन्ती मनाएको छ । 

स्वर्ण जयन्तीको अवसरमा शाखाको नव निर्मित भवनको उद्घाटन समेत गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोदकुमार शर्माले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । ४० लाखमा रेडक्रस जिल्ला शाखा रुकुम पश्चिमको भवन निर्माण भएको हो । 

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीको २५ लाख र रेडक्रस रुकुम पश्चिम शाखाको १५ लाख आन्तरिक स्रोतबाट भवन निर्माण सम्पन्न भएको रेडक्रस रुकुम पश्चिमका सदस्य तथा पूर्व सभापति शिवराम खत्रीले जानकारी दिनुभयो । 

भवन आइएफआरसीको लगानीमा निर्माण भएको हो भने जमिन सम्म्याउने, पुरानो घर भत्काउने, रंगरोगन गर्ने तथा फिनिसिङको काम रेडक्रस रुकुम पश्चिमको आन्तरिक स्रोतबाट गरिएको उहाँले बताउनुभयो । 

यसअघि नै कार्यालय रहेको मुसिकोट १ खलङ्गाको बराहटाकुरामा १ तले नयाँ भवन निर्माण भएको छ । भवन निर्माणले अव कार्यालय सञ्चालन लगायतका कामकाजमा सहजता आउने नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति बलवीर पुनले विश्वास व्यक्त गर्नुभयो ।  

red-cross-1775907579.jpg
स्वर्ण जयन्तीको अवसरमा रेडक्रस रुकुम पश्चिमको स्मारिका विमोचन गरिएको छ भने विभिन्न सहयोगी तथा सरोकारवालाहरूलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ । साथै स्वर्ण जयन्तीको स्तम्भ पनि अनावरण गरिएको छ । 

स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष शर्माले रेडक्रस परोपकारी संस्था रहेको र रेडक्रसले स्थापनाकाल देखि नै सोही अनुसार काम गरिरहेको बताउनुभयो । रेडक्रसले रुकुम पश्चिममा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सोही अनुसार परोपकारको काममा सक्रिय हुन आग्रह गर्नुभयो । 

त्यस्तै रेडक्रस सोसाइटी जिल्ला शाखाका पूर्व सभापति तथा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रेडक्रसले हरेक विपत् तथा विकास र सामाजिक सशक्तीकरणका क्षेत्रमा काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । 

रेडक्रस रुकुम पश्चिमले भूकम्पपछि पुनर्निर्माण, तत्कालीन राहत तथा उद्धार, विभिन्न विपत्जन्य घटनामा राहत तथा उद्धार, पुनर्निर्माण र पुनर्स्थापना, सरसफाइ, खानेपानी लगायतका क्षेत्रमा काम गरिरहेको छ । 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति बलवीर पुनको अध्यक्षतामा भएको स्वर्ण जयन्ती विशेष कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोदकुमार शर्माको प्रमुख तथा केन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रेडक्रस कर्णालीका अध्यक्ष लीलाराम सुवेदीको विशेष आतिथ्यता रहेको थियो । 

जिल्ला शाखा उपसभापति दीपा डाँगी खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला शाखा मन्त्री यज्ञबहादुर केसीले गर्नुभएको थियो ।

redcross12-1775907579.jpg

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update