Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै पालिकामा पाठ्यपुस्तक आइपुग्यो

रुकुम पश्चिममा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र अगावै ६ वटै पालिकामा पाठ्यपुस्तक आइपुगेको र लगभग सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । 

सबै पालिकाको रिपोर्ट अनुसार विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जानकारी रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । जिल्लाका ६ वटै पालिकाका शिक्षा शाखाले पालिकामा आवश्यक पाठ्यपुस्तक पुगिसकेको र अधिकांश विद्यालयमा किताब पुगिरहेकाे जानकारी गराएको उहाँले बताउनुभयो । 

जनक शिक्षा सामग्री केन्द्रको नेपालगन्ज वितरण केन्द्रबाट रुकुम पश्चिममा पाठ्यपुस्तक पुर्‍याइएको हो । केन्द्रका आधिकारिक बिक्रेताहरूले पालिका पालिकामा पाठ्यपुस्तक ल्याएको र पालिकाको केन्द्रबाट विद्यालयमा पुगिरहेको सम्बन्धित पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी गराएका छन् । 

सानीभेरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपालसिंह विष्टले पालिकामा यस अघि नै पाठ्यपुस्तक पुगिसकेको बताउनुभयो । विद्यालयमा समेत पाठ्यपुस्तक गइरहेको र केही दिनमा सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने उहाँको भनाई छ । 

त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख मानबहादुर विश्वकर्माले पाठ्यपुस्तकका लागि सबै विद्यालयलाई रकम निकासा गरिसकेको बताउनुभयो । भर्नासँगै पाठ्यपुस्तक उपलब्ध गराउन भनेको र सोही अनुसार भइरहेको उहाँले बताउनुभयो । 

बाँफिकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी रेग्मीले पाठ्यपुस्तक पुगिरहेको विद्यालयले जानकारी गराइरहेको बताउनुभयो । भर्ना अभियान सुरु भई नसकेकोले भर्ना सँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउने उहाँको भनाई छ । 

रुकुम पश्चिममा पछिल्ला वर्षहरूमा समयमै पाठ्यपुस्तक पुगिरहेका छन् । केही वर्ष अघिसम्म शैक्षिक सत्र सुरु भइसक्दा पनि सबै विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न नसकिरहेको अवस्थामा पछिल्ला वर्षहरूमा भने समयमै पाठ्यपुस्तक पुगिरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख पुनले बताउनुभयो । जिल्ला भरमा २८४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update