रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई दशौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउनको लागि आर्थिक सहयोग रकम जुट्दै गएको छ । यही वैशाख १० गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने दशौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी जनाउनको लागि सहयोग रकम जुट्दै गएको हो । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले दशौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुष भलिबल तर्फ सहभागिता जनाउँदै छ ।
सोही च्याम्पियनसिपमा सहभागिता जनाउनको लागि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट करिब ४ लाख आर्थिक सहयोग जुटेको रुकुम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गेम टिर्सट बाहेक देश तथा विदेशबाट गरेर हालसम्म कुल ३ लाख ९१ हजार १ सय ११ रुपैयाँ सहयोग सङ्कलन भएको छ ।
जसमा सबैभन्दा बढी मुसिकोट नगरपालिका १ घर भई हाल अमेरिका बस्दै आउनुभएका सागर रोकायले १ लाख ७० हजार सहयोग गर्नुभएको छ । त्यस्तै मुसिकोट नगरपालिका १ घर भई हाल अमेरिका बस्दै आउनुभएका एनआरएन एनसिसी क्लाेराडो उपाध्यक्ष हरि गुरुङले १ लाख, मुसिकोट १ घर भई हाल अमेरिका बस्दै आउनुभएका सागर क्षेत्रीले २० हजार, मुसिकोट नगरपालिका १ घर भई हाल अमेरिका बस्दै आउनुभएका टिकाराम बोहराले ५० हजार, बाँफिकोट गाउँपालिका २ घर भई हाल जापान बस्दै आउनुभएका पौडेल राजाले केल्मी कम्पनीका १२ सेट गेम टिसर्ट र रुकुम पश्चिमका सन्तोष विष्टले १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै संस्थागत रूपमा मुसिकोट नगरपालिकाले ५० हजार सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष बुढाको भनाइ छ । सहयोग रकम जुट्ने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
पिएम कपको लागि रुकुम पश्चिम यस अघि नै छनोट भएको थियो । गत पुसमा सम्पन्न नवौँ एनभिए कप भलिबलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र दशौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल च्याम्पियनसिपका लागि पुरुष तर्फ छनोट भएको थियो ।
च्याम्पियनसिपका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले तयारी तीव्र पारेको केन्द्रका अध्यक्ष तथा प्रशिक्षक तेज बुढाले जानकारी दिनुभयो । आगामी काभा क्लब भलिबल च्याम्पियनसिपमा छनोट हुने लक्षका साथ तयारीमा रहेको बताउनुभयो । प्रधानमन्त्री कप भलिबलको विजेताले काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने व्यवस्था छ । काभा क्लब भलिबल च्याम्पियनसिप अन्तर्राष्ट्रिय प्रतियोगिता हो । च्याम्पियन बनेर यस प्रतियोगितामा छनोटको मुख्य लक्ष सहित सहभागी बन्न लागेको बुढाको भनाई छ । प्रशिक्षण केन्द्रले नवौँ एनभिए कपमा तीन जना पाकिस्तानी खेलाडी सहित उपाधि हात पार्ने लक्षका साथ उत्रिएको थियो ।
तर टिम सान्त्वनामा चित्त बुझाउन बाध्य भएको थियो । उक्त प्रतियोगिताको हारबाट पाठ सिक्दै यो पटक बलियो टिम निर्माणमा ध्यान केन्द्रित गरिएको उहाँको भनाई छ । यस पटक पनि पाकिस्तानबाटै तीन जना खेलाडी ल्याउने केन्द्रले तयारी गरेको छ । खेलाडी भित्र्याउने तयारी लगभग अन्तिम चरणमा पुगेको र एनभिएको भन्दा यो पटक टिम सन्तुलित बन्ने प्रशिक्षक बुढाको भनाई छ । त्यस्तै यस पटक स्वदेशी पनि स्तरीय खेलाडी टिममा अनुबन्ध गर्न लागिएको उहाँको भनाई छ ।





-1759842583.jpg)