रुकुम पश्चिममा पनि दोस्रो आर्थिक गणना सुरु भएको छ । आजबाट सुरु भएको गणना आगामी असार ७ गतेसम्म चल्ने छ । आर्थिक गणनाका लागि जिल्लामा १७ जना गणक र ३ जना सुपरिवेक्षकहरू खटिएका छन् ।
आर्थिक गणनाका लागि जिल्लामा यसअघि नै जिल्ला आर्थिक गणना कार्यालय स्थापना भएको छ । उक्त कार्यालयले जिल्लामा आर्थिक गणना सुरु गरेको हो । जिल्ला भरमा रहेका आर्थिक क्रियाकलाप तथा केही सेवा मूलक संस्थाहरूको समेत गणना हुने जिल्ला आर्थिक गणना अधिकारी ठाकुरप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजी क्षेत्रका आर्थिक क्रियाकलापसँग सम्बन्धित सबै प्रतिष्ठानहरू र सरकारी तर्फका शिक्षा, स्वास्थ्य र हुलाकको गणना हुने छ । आर्थिक क्रियाकलाप गर्ने, दर्ता भएका तथा नभएका, ठुला, साना सबै प्रकृतिका प्रतिष्ठानको वास्तविक अवस्था जस्तै आर्थिक क्रियाकलाप, रोजगारी, उत्पादन लगायतको तथ्याङ्क सङ्कलन हुने उहाँको भनाई छ ।
व्यापारिक सहित उपभोक्ता समिति देखि क्लबसम्मको तथ्याङ्क सङ्कलन हुने उहाँले बताउनुभयो । यथार्थ तथ्याङ्कको सङ्कलन गरी देशको नीति निर्माणमा सघाउने लक्ष्यले आज देखि असार ७ गतेसम्म आर्थिक तथ्याङ्क सङ्कलन गरिने छ ।
व्यावसायिक प्रतिष्ठानहरूको उत्पादन, आयात र निर्यातको यथार्थ विवरण तयार गरी कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क निकाल्न यो गणना गर्न लागिएको हो । वि.सं. २०७५ मा पहिलो पटक थालिएको गणनाको यो दोस्रो संस्करण हो ।
विशेष गरी व्यवसाय, कृषि उत्पादन, आय तथा व्यय र आंशिक तथा दीर्घकालीन रोजगारीको अवस्थालाई यो तथ्याङ्कले देखाउनेछ । २०७५ सालमा लिइएको तथ्याङ्कमा रुकुम पश्चिममा करिब ४ हजार प्रतिष्ठान रहेको देखिएको थियो ।
तर विभिन्न कारणले सही विवरण सङ्कलनमा चुनौती रहेको र सोही अनुसार यस पटक खटिएका गणकहरूले काम गर्ने जिल्ला आर्थिक गणना अधिकारी लामिछानेले बताउनुभयो । सम्पूर्ण व्यावसायिक गोपनीयता कायम गर्न तथ्याङ्क गोप्य राखिने भन्दै उहाँले सही सूचना दिन सबैमा आग्रह गर्नुभएको छ ।
हरेक ५ वर्षमा सञ्चालन गर्ने भनिए पनि दोस्रो आर्थिक गणना ७ वर्ष पछि सञ्चालन हुन लागेको हो ।





-1759842583.jpg)