रुकुम पश्चिममा २ सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ । जिल्ला अस्पतालमा उपचाररत २ आमा र शिशुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मुरुकी गीता खड्का पुनको भर्खरै जन्मिएको छोरामा श्वासप्रश्वासको समस्या देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकप्टर मार्फत उद्धार गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर जीवन परियारले जानकारी दिनुभयो ।
उक्त हेलिकप्टरमै जिल्ला अस्पतालमा चैत्र ३० गते सुत्केरी भएकी मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पूकी प्रतीक्षा खड्काको पित्त थैलीमा मासु पलाएको र जसका कारणले पेट अत्यधिक दुख्ने र बान्ता हुने समस्या भएपछि उहाँलाई पनि थप उपचारका लागि सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।
जिल्लामा भएको सेवा भन्दा थप उपचार आवश्यक भएपछि दुवैलाई सुर्खेत पठाइएको उहाँले बताउनुभयो । आज दिउँसो साढे २ बजेतिर हेलिकप्टर बिरामीलाई लिएर सुर्खेत गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
जिल्लाबाट समस्या रहेका आमा र शिशुको हवाई उद्धार हुने क्रम बढ्दो छ । विभिन्न कारणले समस्यामा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरेर थप उपचारका लागि लैजाने क्रम बढ्दो छ । यो कार्यक्रमले बर्सेनि ठुलो संख्यामा आमा तथा नवजात शिशुको ज्यान बचाइरहेको छ ।





-1759842583.jpg)