रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ ट्याखोलामा मुसिकोट नगरपालिकाले फोहोर व्यवस्थापन गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले तत्कालै यो कार्य रोक्न चेतावनी दिएका छन् । ट्याखोलावासी स्थानीय तथा सरोकारवालाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै जानकारी तथा छलफल नगरी रातारात ट्याखोलामा फोहोर फाल्न सुरु गर्ने नगरपालिकाको कार्यले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
ट्याखोलामा अवैध रूपमा फालिएको सम्पूर्ण फोहोर तुरुन्तै हटाई उक्त क्षेत्रलाई पूर्ववत् अवस्थामा ल्याउन उनीहरूको माग छ । साथै यस घटनामा संलग्न तथा निर्णय प्रक्रियामा सहभागी जिम्मेवार पदाधिकारीहरूको पहिचान गरी कारबाही गर्न समेत स्थानीयले माग गरेका छन् । वैज्ञानिक, दिगो र वातावरणमैत्री फोहोर व्यवस्थापनको स्पष्ट कार्य योजना सार्वजनिक गर्न पनि उनीहरूले विज्ञप्ति मार्फत नगरपालिकालाई अनुरोध गरेका छन् ।
आफ्ना मागलाई बेवास्ता गरेमा बाध्य भएर चरणबद्ध आन्दोलनका साथै सशक्त कदमहरू चाल्न बाध्य हुने चेतावनी स्थानीयले दिएका छन् । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने उनीहरूको भनाई छ । जनताको अधिकारमाथि अतिक्रमण गरेर कुनै पनि निर्णय लागू गर्न खोजिए त्यसको कडा प्रतिरोध गर्ने विज्ञप्तिमा उल्लेख छ ।
फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा वैज्ञानिक योजना, दिगोपन र जनसहभागिता अनिवार्य हुन्छ । तर, सम्बन्धित निकायले ती सबै पक्षलाई बेवास्ता गर्दै लुकीछिपी रातारात फोहोर फाल्ने कार्य गर्नुले स्थानीय सरकारप्रतिको विश्वासमाथि गम्भीर चोट पुगेको छ । यस्तो कदमले ट्याखोला क्षेत्रको प्राकृतिक स्रोत, पानीको गुणस्तर, कृषि प्रणाली तथा जैविक विविधतामा दीर्घकालीन नकारात्मक असर पार्ने निश्चित छ, विज्ञप्तिमा भनिएको छ ।
मुसिकोट नगरपालिकामा फोहोर व्यवस्थापन गम्भीर चुनौतीका रूपमा देखिएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाउन नसक्दा जिल्ला सदरमुकामको फोहोर व्यवस्थापन प्रमुख चुनौती बनेको हो । अहिले नगरपालिकाका कुनै पनि स्थानीय आफ्नो ठाउँ नजिक फोहोर फाल्न दिने पक्षमा देखिएका छैनन् ।
नगरपालिकाले जुन ठाउँमा व्यवस्थापन गर्न खोजे पनि स्थानीयले अवरोध गरिरहेका छन् । जसका कारण मुसिकोटका विभिन्न बजारमा लामो समयसम्म फोहोरको थुप्रो लाग्ने गरेको छ ।






-1759842583.jpg)