Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती साहित्य परिषद् रुकुम पश्चिमले मनायो १८ औँ वार्षिकोत्सव, ५ स्रष्टा सम्मानित 

राप्ती साहित्य परिषद् रुकुम पश्चिमले १८ औँ वार्षिकोत्सव मनाएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा अवस्थित जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रम आयोजना गरी परिषद्ले १८ औँ वार्षिकोत्सव मनाएको हो । त्यस्तै परिषद्ले वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा परिषद्ले विभिन्न ५ स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । परिषद्मा रहेका विभिन्न अक्षयकोषहरूबाट साहित्यका विभिन्न विधा तथा पत्रकारिता मार्फत योगदान गर्ने ५ जनालाई सम्मान तथा पुरस्कृत गरेको हो ।

रुकुम साहित्य माला पुरस्कार साहित्यकार रमेश सुवेदी र योगमाया लोक साहित्य पुरस्कार साहित्यकार कमलमणि देवकोटालाई प्रदान गरिएको छ । त्यस्तै मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार साहित्यकार पूर्ण ओली, बलबहादुर श्रेष्ठ स्मृति साहित्य पुरस्कार कुबेर मल्ल र सुमना–सुमन साहित्य पुरस्कारबाट पत्रकार देवकुमार ओलीलाई पुरस्कृत गरिएको परिषद्का सचिव ओमबहादुर खत्रीले जानकारी दिनुभयो । परिषद्मा विभिन्न पुरस्कार कोषहरू रहेका छन् ।

उक्त कोषबाट बर्सेनि विभिन्न विधाका स्रष्टा तथा साहित्यकार र पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ । यसैबिच साधारण सभाले संस्थाको प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको छ । सचिव खत्रीले प्रस्तुत गरेका दुवै प्रतिवेदन साधारण सभाबाट पारित भएका हुन् । 

संस्थाको १ वर्षको आय ८५ हजार ९६ रुपैयाँ रहेको छ भने व्यय १ लाख ६ हजार २ सय ६० रुपैयाँ रहेको छ । संस्थाको ऋण २१ हजार १ सय ६० रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै परिषद्ले प्रगति प्रतिवेदनमा आगामी दिनका योजना समेत समेटेको छ । उसले बाल तथा ज्येष्ठ/अग्रज स्रष्टा परिचालन तथा सम्मान, नगर तथा गाउँपालिका स्तरीय लोक तथा साहित्य प्रतियोगिता सञ्चालन गर्ने, विधागत साहित्य लेखन, साहित्यिक भ्रमण, आधारभूत विद्यालय स्तरीय नाटक मञ्चन प्रतियोगिता र अन्तर मावि स्तरीय लोक नृत्य तथा हाजिर जवाफ, क्याम्पस स्तरीय वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको छ ।

त्यस्तै सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता सचेतनामूलक नाटक, पुस्तकालय, वाचनालय स्थापना र अग्रज साहित्यकारहरूका जन्म दिवस मनाउने, परिषद्को नवनिर्मित स्वर्गीय राधा ओली स्मृति भवनलाई पूर्णता दिने, साहित्य सिर्जना उत्सव र छलफल तथा अन्तक्र्रिया कार्यक्रम गर्ने योजना पनि परिषद्को छ । प्रगति प्रतिवेदनमा जिल्लामा परिषद् स्थापना भएदेखि हालसम्म भएका सम्पूर्ण गतिविधिहरू समेत उल्लेख गरिएको छ । 

परिषद्ले विभिन्न साहित्यिक कार्यक्रम सहित रेडियो सानीभेरीबाट रेडियो कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । त्यस्तै कार्यक्रममा १५ जना स्रष्टाहरूले रचना वाचन समेत गरेको सचिव खत्रीले जानकारी गराउनुभएको छ ।  

राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख र पूर्व राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक, परिषद्का पूर्व केन्द्रीय महासचिव तथा साहित्यकार रमेश सुवेदी, साहित्यकार पूर्ण ओली, परिषद्का पूर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार गिरीप्रसाद बुढा, साहित्यकार खगेश्वर भण्डारी, मुकुन्दप्रसाद शर्मा लगायतको पनि आतिथ्यता रहेको थियो ।

परिषद्का वरिष्ठ सदस्य नारायण शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो । साथै स्वागत गीत समेत राखिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update