Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविको सार्वजनिक लेखा परीक्षण सम्पन्न, विद्यालय सुधार योजना तयार 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको त्रिभुवन जनता मावि खलङ्गाको सार्वजनिक लेखा परीक्षण सम्पन्न भएको छ । शनिवार विद्यालयको सार्वजनिक लेखा परीक्षण सहित भौतिक परीक्षण कार्य सम्पन्न भएको हो । शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रवीर ददेलको संयोजकत्वमा सार्वजनिक लेखा परीक्षण सम्पन्न भएको हो । 

आम्दानी विवरण, खर्च विवरण, विद्यालयमा सञ्चालित कार्यक्रमहरूको उपलब्धि, जिन्सी सामान लगायतका कागजातका आधारमा सार्वजनिक लेखा परीक्षण भएको छ । परीक्षणबाट विद्यालयले ९० अंक प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो । 

यसैबिच विद्यालयको वार्षिक विद्यालय सुधार योजना तयार भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले शनिवारको कार्यक्रममा विद्यालय सुधार योजना पेस गर्नुभएको थियो । उक्त कार्य योजना छलफल पश्चात् पारित भएको विव्यस अध्यक्ष केसीले बताउनुभयो । विद्यालयको समग्र उन्नयनलाई ध्यानमा राखेर कार्यान्वयनको समय सीमा र जिम्मेवारी समेत तोकेर विद्यालय सुधार योजना निर्माण गरिएको उहाँको भनाई छ । 

भौतिक पक्ष, आर्थिक पक्ष, नीतिगत विषय र शैक्षिक सुधारका विषयहरू समेटेर विद्यालय सुधार योजना निर्माण भएको र शनिवारको कार्यक्रमबाट पारित भएपछि अब नयाँ शैक्षिक सत्रमा कार्यान्वयनका लागि बाटो खुलेको विव्यस अध्यक्ष केसीले बताउनुभयो । विद्यालयले हरेक वर्ष विद्यालय सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । 

त्यस्तै कार्यक्रममा बितेको शैक्षिक सत्रमा लागु भएको विद्यालय सुधार कार्य योजनाको समीक्षा गरिएको छ भने विद्यालयमा कार्यरत निजी स्रोतबाट सेवा सुविधा लिने शिक्षक र कर्मचारीको समस्या र समाधान विषयक कार्यपत्र समेत विव्यस अध्यक्ष केसीले प्रस्तुत गर्नुभएको थियो । 

tjss--1776567177.jpg
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले विद्यालयले सुधारका लागि हालसम्म गरेका कामको प्रशंसा गर्नुभयो । साथै उहाँले आगामी दिनमा त्यसलाई थप बढाउन र समस्या देखिएको अवस्थामा समाधानका लागि सबै पक्षलाई मिलेर लाग्न उहाँले सुझाव समेत दिनुभयो । 

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञानुचन्द्र चन्दले विद्यालयको बृहत्तर हितका लागि सरोकारवाला सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, राजनीतिक दल, बुद्धिजीवी, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update