Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्मफ्लाइट्स फाउन्डेसन र गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात मन्त्रीबिच अन्तरक्रिया 

कर्मफ्लाइट्स फाउन्डेसन नेपालले गण्डकी प्रदेश सरकारका भौतिक विकास तथा यातायात मन्त्री मानवीय गोविन्द बहादुर नेपालीको टोलीसँग अन्तरक्रिया गरेर आफ्ना माग पत्र बुझाएको छ । पोखरा महानगरपालिका-६ लेकसाइड बङ्गलादीमा अवस्थित कर्मफ्लाइट्स फाउन्डेसन नेपालको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । 

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले कर्मफ्लाइट्स फाउन्डेसनका कार्यहरू निकै प्रभावकारी रहेको र उक्त कार्यले आफू निकै प्रभावित भएको बताउनुभयो । मन्त्री नेपालीले आगामी दिनमा कर्मफ्लाइट्ससँग समन्वय गर्ने बताउनुभयो । 

मन्त्री नेपालीले भन्नुभयो- 'तपाईँहरूको काम यसै पनि प्रभावकारी छ । गण्डकी प्रदेश सरकार यसप्रति सकारात्मक रहने विश्वास दिलाउन चाहन्छु । तपाईँहरूसँग समन्वय र साझेदारी गर्नको लागि मैले पहल गर्नेछु ।' 

संस्थाका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले लामो वर्षदेखि संस्थाले देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र समुदायमा विभिन्न किसिमका काम गर्दै आएको बताउनुभयो । निर्देशक कुँवरले आगामी दिनमा आफ्नो संस्था प्रदेश सरकारसँग पनि समन्वय गरी काम इच्छुक रहेको बताउनुभयो । 

संस्थाको तर्फबाट विगतमा भएका सामाजिक कार्यका केही झलक पनि देखाइएको थियो । संस्थाका सचिव कुलप्रसाद अधिकारीको सञ्चालन तथा संस्थाका अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री गोविन्दबहादुर नेपालीलाई भव्य सम्मान समेत गरिएको थियो । 

संस्थाका सबै सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको समन्वयकारी भूमिका स्वास्थ्य प्रमुख कृष्ण पाण्डेले खेल्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update