Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सबै उम्मेदवारले तोकिएकै समयमा निर्वाचन खर्च बुझाए, कसको खर्च कति ? 

रुकुम पश्चिमका सबै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । फागुन २१ गतेको निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवार बनेका सबैले तोकिएकै समय सीमा भित्र निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा १२ जना उम्मेदवार रहेकामा सबै उम्मेदवारहरूले तोकिएको समयमै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । केहीले आफैले खर्च विवरण बुझाएको र केहीलाई भने समयमै खर्च विवरण बुझाउन ताकेता गर्नुपरेको उहाँले बताउनुभयो । 

मतगणना सम्पन्न भएको ३० दिनभित्र सबै उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाएको उहाँको भनाई छ । जिल्लामा एक जना उम्मेदवारले अधिकतम ३१ लाख खर्च पाउने निर्वाचन आयोगले व्यवस्था गरेको थियो । परिधि भित्र खर्च गरेको उम्मेदवारले बुझाएको विवरणमा उल्लेख रहेको केसीले बताउनुभयो । 

जिल्लामा १२ दलका उम्मेदवारले निर्वाचन लडेका थिए । नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल विजयी हुनुभएको थियो । उहाँको निर्वाचन खर्च १५ लाख ५ हजार २ सय ५० रहेको खर्च विवरणमा उल्लेख छ । जिल्लामा सबैभन्दा बढी खर्च प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरको देखिएको छ । 

उहाँले निर्वाचनमा २८ लाख २५ हजार खर्च गरेको उल्लेख गरिएको छ । उहाँ निर्वाचनमा भने तेस्रो हुनुभएको थियो । दोस्रो बन्नुभएका नेपाली काँग्रेसका राजु केसीको निर्वाचन खर्च २२ लाख १९ हजार ३० रुपैयाँ रहेको जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको उहाँको खर्च विवरणमा उल्लेख छ । 

रास्वपाका मानबहादुर शाहीको खर्च ७ लाख ६३ हजार, नेकपा एमालेका नन्दराम देवकोटाको १ लाख १५ हजार ४ सय, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठको २३ हजार ८ सय ५५, उज्यालो नेपालका नरेन्द्र केसीको १ लाख ६७ हजार र नेमकिपाका धनबहादुर विकको निर्वाचन खर्च ९ हजार ५ सय देखिएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्काको खर्च २ लाख, नेकपा माओवादीका चन्द्रबहादुर बुढाको खर्च ३ लाख ४५ हजार, नेकपा संयुक्तका शेरबहादुर केसीको खर्च ४० हजार र आम जनता पार्टीका प्रेमा दमाई नेपालीको निर्वाचन खर्च १ लाख ८० हजार ६ सय ५० भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

स्राेतः जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिम ।
रुकुम पश्चिमका कुन उम्मेदवारकाे निर्वाचन खर्च कति ?
क्र.स. उम्मेदवार.     पार्टी.      खर्च.   
१. जनार्दन शर्मा प्रभावकर    प्रगतिशील लाेकतान्त्रिक पार्टी २८,२५,०००
२. राजु केसी नेपाली काँग्रेस २२,१९,०३०
३. गाेपाल शर्मा  (निर्वाचित) नेपाली कम्युनिस्ट पार्टी १५,०५,२५०
४. मानबहादुर शाही  राष्ट्रय स्वतन्त्र पार्टी ७,६३,०००
५. चन्द्रबहादुर बुढा नेकपा माओवादी  ३,४५,०००
६. गाेपाल खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी २,०००००
७. प्रेमा दमाई नेपाली आम जनता पार्टी १,८०,६५०
८. नरेन्द्र केसी उज्यालाे नेपाल पार्टी १,६७,०००
९. नन्दराम देवकाेटा  नेकपा एमाले  १,१५,४००
१०. शेरबहादुर केसी नेकपा संयुक्त ४०,०००
११. सत्यनारायण श्रेष्ठ राष्ट्रिय जनमाेर्चा  २३,८,५५
१२. धनबहादुर बिक  नेपाल मजदुर किसान पार्टी  ९,५००

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update