Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्मामा बन्याे २ करोड १७ लाख लागतमा सुविधा सम्पन्न स्वास्थ्य चौकी  भवन

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ अर्मामा नवनिर्मित सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट र स्विस सरकारका तर्फबाट अमन जोन्थेले संयुक्त रूपमा रिबन काटेर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभयो । नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन भएसँगै आजबाटै सेवा प्रवाह सुरु भएको वडा अध्यक्ष भूपालसिंह ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्विस सरकारको आर्थिक सहयोग तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशको संयोजन र सानीभेरी गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको हो । स्विस सरकारको २ करोड १७ लाख लागतमा शौचालय सहित ६ कोठाको सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको वडा अध्यक्ष ओलीले  जानकारी दिनुभयो । स्वास्थ्य चौकी भवन प्रसूति केन्द्रको  मापदण्डमा  निर्माण गरिएको उहाँको भनाई छ ।

उक्त स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा २०८० साल मंसिर ५ गते नारायण निर्माण सेवा प्रालि सल्यानले लिएको थियो । उक्त निर्माण कम्पनीले समयमै  भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । सुविधा सम्पन्न स्वास्थ्य चौकी सञ्चालन भएसँगै सेवा प्रवाहमा सहज हुने वडाले अपेक्षा गरेको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, स्विस सरकारका प्रतिनिधि अमन जोन्थे, हेल्बेटास नेपालका प्रतिनिधि मनिष प्रधान, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि स्थानीयवासीको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update