Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट भूकम्प: पुनर्निमाणको काममा ढिलाइ हुनुमा सरकारका जिम्मेवार निकायको लापरवाही: सांसद शर्मा

२०८० साल कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण क्षति पुगेका स्थानमा पुनर्निर्माणको काम ढिलाइ हुनुमा सङ्घीय सरकारका जिम्मेवार निकायको लापरबाही गरेको रहेको प्रतिनिधि सभा सदस्य गोपाल शर्माले बताउनुभएको छ । आज रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरिगाउँमा ग्रामीण मुखी युवा अभियान नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद शर्माले भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा पुनर्निर्माण काममा सङ्घीय सरकारले लापरबाही र गैरजिम्मेवारीपन देखाएको बताउनुभयो । 

स्थानीय तहले निकै दुख गरेर काम गरे पनि सङ्घीय सरकाले यस विषयमा चासो नदिँदा भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्न नसकिएको  उहाँले बताउनुभयो । सङ्घीय सरकारको लापरबाहीले सम्झौता र निर्माणको काम समेत  रोकिएको  उहाँको भनाई थियो ।‘‘प्रधानमन्त्री र गृहमन्त्रीसँग यस विषयमा पटक पटक कुरा उठाउँदा पनि चासो देखाउनुभएको छैन,  यस विषयमा सरकारलाई मईले  निरन्तर खबरदारी गरिरहेको छु सांसद शर्माले भन्नुभयो । 

सामान्य लाभग्राहीको सम्झौता गर्ने विषयमा समेत सरकारले आफ्नो मातहतका निकायबाट काम गराउन नसकेको सांसद शर्माको आरोप थियो । भूकम्प पुनर्निर्माणका काम जटिल बनेको भन्दै यसलाई सकारकाले गम्भीरता पुर्वक लिनुपर्ने उहाँले बताउनुभयो । जिम्मेवारी निकायको लापरबाहीका विरुद्ध आफू पनि आवाज उठाउने र जनताले पनि आवाज उठान आवश्यक रहेको उहाँको भनाई थियो । जनताका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याएर आफ्नो तर्फबाट काम गरिहरेको समेत प्रतिनिधि सभा सदस्य शर्माले बताउनुभयाे । 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update