Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा मानव अधिकार रक्षक सञ्जाल  र निर्वाचित जनप्रतिनिधि विच अन्तरक्रिया 

रुकुम पश्चिममा युवा मानव अधिकार रक्षकका सवालमा युवा मानव अधिकार रक्षक र निर्वाचित जनप्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आज मुसिकोट ५ सेरिगाउँमा ग्रामीण मुखी युवा अभियान नेपालको आयोजना तथा युवा मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको समन्वयमा युवा मानव अधिकार रक्षक र निर्वाचित जनप्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा आयोजक संस्था ग्रामीण मुखी युवा अभियान नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोष विकले संस्थाको परिचय, कार्यक्षेत्र, परियोजनाको उद्देश्य, उपलब्धिहरू लगायतका विषयमा प्रस्ट पार्नुभएको थियो ।

संस्थाले हाल १९ जिल्लामा  काम गरिरहेको र ३० वर्षका युवाहरूलाई सञ्जालिकरण गर्ने, सूचनामा पहुँच, ज्ञान र क्षमता अभिवृद्धि लगायतका विषयमा काम गरिरहेको उहाँको भनाई छ । कार्यक्रमका सहभागीहरूले स्थानीय सरकारले युवा मानव अधिकार रक्षकको पक्षमा युवा लक्षित कार्यक्रम तथा बजेट निर्माण गर्नुपर्ने, क्षमता अभिवृद्धि, सशक्तीकरण तथा रोजगारमूलक कार्यक्रममा जोड्नु पर्ने लगायतका सुझाव राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य गोपाल शर्मा सङ्घदेखि स्थानीय तहका सरकारले युवा मैत्री नीति तथा कार्यक्रम निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै आफू सरकारमा नभए पनि आवाज उठाउने ठाउँमा रहेकाले युवाहरूको विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रममा युवाका आवश्यकतालाई मध्यनजर गर्दै सम्बन्धित ठाउँमा आफूले पहल गर्ने उहाँको भनाई थियो ।

त्यस्तै विशेष अतिथि समन्वय उप प्रमुख देवबहादुर विकले युवा मानव अधिकारका विषयमा सबैले हातेमालो गरेर अगाडी बढाउनुपर्ने बताउनुभयो । युवाहरू सामाजिक कार्यमा एकरूपता भएमा समाजमा पनि राम्रो सन्देश जाने भएकाले  युवा मानव अधिकारका विषयमा थप सशक्त भएर अगाडी बढ्न पनि सुझाव दिनुभयो । अन्तरक्रिया कार्यक्रममा युवा मानव अधिकार रक्षक सञ्जालको आगामी कार्य योजना समेत निर्माण भएको छ । उक्त योजना मार्फत युवा लक्षित कार्यक्रम निर्माण गर्न स्थानीय सरकारसँग सहकार्य गरेर जिल्लाका सबै पालिकामा सञ्जाल गठन गर्ने निर्णय  गरिएको युवा मानव रक्षक सञ्जाल रुकुम पश्चिमले जनाएको छ । 

युवा मानव अधिकार रक्षक सञ्चालनका कावा अध्यक्ष रमेश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य शर्माको रहेको थियो । विशेष अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख विक रहनुभएको थियो । अन्य अतिथिहरूमा मुसिकोट नगरपालिका १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, २ नम्बर वडा अध्यक्ष दिनेश खड्का, ५ नम्बर वडा अध्यक्ष समिरजङ मल्ल, मानव अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रमको सञ्चालन  युवा मानव अधिकार रक्षक सञ्जालकी जिल्ला सदस्य लक्ष्मी खत्रीले गर्नुभएको थियो । 

 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update