रुकुम पश्चिममा हेलिकप्टर उद्धारबाट बर्सेनि ठुलो सङ्ख्यामा आमा तथा शिशुको ज्यान बच्ने गरेको छ । नेपाल सरकारले सञ्चालनमा ल्याएको राष्ट्रपति महिला उत्थान कार्यक्रम हाल नाम परिवर्तन भएर राष्ट्रपति महिला सशक्तीकरण परियोजना भएको छ । यस कार्यक्रमबाट जिल्लामा बर्सेनि ठुलो सङ्ख्यामा जोखिममा रहेका आमा तथा शिशुको हेलिकप्टर मार्फत उद्धार हुने गरेको छ ।
जिल्लामा सुत्केरी हुन नसकेर तथा सुत्केरी पश्चात् विभिन्न स्वास्थ्य समस्याले जोखिममा रहेका महिला तथा शिशुको उद्धार गर्ने गरिएको छ । जसका कारण गम्भीर समस्यामा रहेका आमा तथा शिशुको ज्यान जोगिने गरेको छ । विशेष गरी दुर्गममा जोखिममा रहेका महिला तथा शिशुको तत्काल उद्धार गरी ज्यान जोगाउने उद्देश्यले आएको यस कार्यक्रमबाट जिल्लामा ठुलो राहत पुगेको छ ।
जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म ११ जना महिला तथा शिशुको उद्धार गरिएको छ । जोखिममा रहेका उक्त गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई उद्धार गरी थप उपचारका लागि लगिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका अनुसार स्वास्थ्य सेवा कार्यालयबाट ९ वटा र चौरजहारी नगर अस्पताल र आठबिसकोट नगर अस्पतालबाट १/१ वटा उद्धार भएका हुन् ।
जिल्ला अस्पतालमा गम्भीर समस्याको उपचार सम्भव नभएको र एन आइसियु लगायतको सुविधा नभएकोले जोखिममा रहेका महिला तथा शिशुलाई रिफर गर्ने गरिएको स्वास्थ्य सेवा कार्यालयको भनाई छ । कार्यालयका अनुसार जिल्लाबाट उद्धार गरेर विशेष गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लग्ने गरिएको छ ।
यो कार्यक्रम महिला तथा नवजात शिशुहरूका लागि वरदान साबित भएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियारले जानकारी दिनुभयो । जिल्लामा उपचार सम्भव नभएका महिला तथा शिशुलाई सुविधा सम्पन्न अस्पतालमा लैजाँदा यो कार्यक्रम मार्फत हेलिकप्टर बोलाउने गरिएको उहाँले बताउनुभयो ।
‘यो कार्यक्रम दुर्गमका महिला तथा बच्चाका लागि वरदान नै साबित भएको छ, जिल्लामा उपचार सम्भव नभएको र तत्कालै उपचारको आवश्यकता परेका महिला तथा बच्चाका लागि राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम मार्फत हेलिकप्टर बोलाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो । विशेष गरी यो कार्यक्रम हिमाली तथा पहाडी जिल्लाका लागि झनै प्रभावकारी देखिएको छ ।





-1759842583.jpg)