रुकुम पश्चिममा ठुलो मात्रामा लगाइएको अवैध लागु औषध अफिम फडानी गरिएको छ । प्रहरीले जिल्लाको आठबिसकोट नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकाका विभिन्न वडामा ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिसकेको छ ।
स्थानीय प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले ठुलो परिमाणमा अफिम नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म गरेर पटक पटक गरी ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम फडानी गरिएको हो ।
उक्त काममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी र प्रहरी प्रमुख पौडेल सहित सुरक्षाका उच्च पदाधिकारी समेत प्रत्यक्ष खटिएका थिए । विशेष गरी आठबिसकोट नगरपालिकाकामा बढी मात्रामा अफिम फडानी गरिएको डिएसपी पौडेलले जानकारी गराउनुभयो ।
आठबिसकोटका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडामा धेरै अफिम फडानी गरिएको उहाँको भनाई छ । त्यस्तै सानीभेरी गाउँपालिका वडा नम्बर ३ र ६ का विभिन्न ठाउँमा लगाइएको अफिम समेत नष्ट गरिएको उहाँले बताउनुभयो । बाँफिकोट गाउँपालिका वडा नम्बर ५ मा लगाइएको अफिम समेत नष्ट गरिएको उहाँले बताउनुभयो ।
अन्य ठाउँमा पनि अफिम खेती गरिएको सूचनाहरू आएको र उक्त ठाउँको खोजी भइरहेको डिएसपी पौडेलले बताउनुभयो । त्यस्तै जिल्लाका अन्य ठाउँहरूमा पनि अफिम खेती गरिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरेर खोजी भइरहेको उहाँले बताउनुभयो ।
यसैबिच अफिम फडानी गरिएका ठाउँको अनुगमन समेत गरिरहेको उहाँले बताउनुभयो । शनिबार जिल्ला सुरक्षा समितिको टोली अफिम फडानी गरिएका ठाउँको अनुगमनका लागि आठबिसकोटको स्यालाखदी पुगेको उहाँको भनाई छ ।
रुकुम पश्चिममा बर्सेनि ठुलो मात्रामा अफिम नष्ट गर्ने गरिएको छ । तर अफिम खेती गर्नेहरूको भने पहिचान हुन नसक्न अफिम खेती गर्नेहरूलाई कारबाही गर्न नसकिएको प्रहरी बताउँछ । राम्रो उत्पादन हुने भएपछि बर्सेनि जिल्लामा अवैध रूपमा अफिम खेती गर्ने गरिएको छ भने ती क्षेत्रको पहिचान गरेर प्रहरीले फडानी गर्ने गर्दै आएको छ ।





-1759842583.jpg)