रुकुम पश्चिममा ७५ वर्षीय वृद्धलाई ठक्कर दिएर एक मोटरसाइकल फरार भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ को हाँसिवाङमा वैशाख ९ गते एक मोटरसाइकलले स्थानीय ७५ वर्षीय दलु ओलीलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
गम्भीर अवस्थामा रहेका ओलीको नेपालगन्ज मेडिकल कलेजमा आइसियुमा उपचार भइरहेको परिवारजनले बताएका छन् । उहाँका छोरा ताराप्रकाश ओलीका अनुसार दलुलाई वैशाख ९ गते बेलुका ४ः४५ बजे तिर सिम्लीबाट आएको दुई जना सवार मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका दलुलाई ठक्कर दिएर भागेको थियो ।
उक्त मोटरसाइकल र मोटरसाइकल चालकको तीव्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटनाको अनुसन्धान चलिरहेको र केही व्यक्ति राडारमा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
सिसी क्यामेराको मद्दत लिइएको भए पनि त्यसबाट कुनै मद्दत नपुगेपछि मोटरसाइकल चालकलाई पक्राउ गर्न समय लागेको उहाँले बताउनुभयो । प्रहरी टोली परिचालन गरिएको जानकारी गराउँदै डिएसपी पौडेलले छिट्टै यस घटनामा प्रगति हुने बताउनुभयो ।
मोटरसाइकलले ठक्कर दिएका दलुको एउटा खुट्टा तीन ठाउँमा भाँचिएको र अर्को खुट्टा पनि भाँचिएको छ भने मेरुदण्डको सहायक हड्डी समेत भाँचिएको छोरा ताराप्रकाशले जानकारी गराउनुभयो ।





-1759842583.jpg)