Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्न ग्रामीण मर्मत-सम्भार तालिम 

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ रिम्कामा गाउँमै आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न सात दिने ग्रामीण मर्मत-सम्भार तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपालको आर्थिक सहयोग तथा रुकुेमली समाज विकास केन्द्र रुकुम पश्चिमको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहकार्यमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई छनोट गरेर ग्रामीण मर्मत-सम्भार  तालिम प्रदान गरिएको हो ।

ग्रामीण मर्मत-सम्भार तालिममा दुई जिल्लाका पाँच स्थानीय तहका खानेपानी उपभोक्ता समितिका १४ जनालाई प्रदान गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी  दिनुभयो । उहाँका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिका, भेरी नगरपालिका, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका ९ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई तालिम प्रदान गरिएको हो । तालिमको मुख्य उद्देश्य गाउँ स्तरमै आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नु रहेको उहाँको भनाई छ ।

त्यस्तै खानेपानी प्रणालीको दिगोपन, नियमित मर्मत–सम्भार तथा प्रभावकारी व्यवस्थापनमा पनि तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने रुकुमेली समाज विकास केन्द्रको विश्वास रहेको छ । हेल्भेटास नेपालको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्रले भूकम्प प्रभावित क्षेत्र दुई जिल्लामा एकिकृत जलस्रोत व्यवस्थापन सम्बन्धी काम गरिरहेको छ । वैशाख ६ गतेबाट सुरु भएको ग्रामीण मर्मत-सम्भार तालिम शनिवार एक कार्यक्रमका बिच समापन गरिएको हो । तालिमका सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

वडा अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा आठविसकोट नगरप्रमुख रवि केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथिहरूमा हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे, प्राविधिक अधिकृत निरीमा थापा, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रियाल, सदस्य टेकबहादुर विक, कार्यक्रम संयोजक बद्री लम्साल लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update