Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण

रुकुम पश्चिमका प्रहरी कर्मचारीहरूको स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी अस्पतालको प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय तथा अन्य युनिटमा कार्यरत प्रहरी कर्मचारीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । 

सुगर, रक्तचाप, पिसाब मार्फत मिर्गौला जाँच लगायतका परीक्षण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । कर्णाली प्रदेश प्रहरी मातहतका प्रहरी कर्मचारीहरूको स्वास्थ्य विवरण सङ्कलन दोस्रो चरण अन्तर्गत जिल्लामा यो कार्यक्रम भएको उहाँले बताउनुभयो । 

प्रहरी कर्मचारीहरूमा भएका स्वास्थ्य समस्याहरूलाई पहिचान गरी उक्त समस्याको उपचारका लागि यो कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ । सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूमा कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम प्रदेश भरमा सञ्चालन भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

1000171271-1777220146.jpg
रुकुम पश्चिममा आज ७४ जना प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक परियारले बताउनुभयो । उहाँका अनुसार हाल कार्यरत र भूतपूर्व प्रहरी कर्मचारीहरूको समेत स्वास्थ्य परीक्षण भएको हो । परीक्षण गरिएकाहरूमा सामान्य प्रेसरको समस्या देखिए पनि ठुलो स्वास्थ्य समस्या नदेखिएको उहाँले बताउनुभयो । 

स्वास्थ्य परीक्षणका लागि कर्णाली प्रदेश प्रहरी अस्पतालबाट विशेषज्ञ डा. श्यामकृष्ण लौडारीको नेतृत्वमा ७ जनाको टोली जिल्ला आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । साथै मानिसक स्वास्थ्य तथा लागु औषध दुर्व्यसन र तनाव व्यवस्थापन सम्बन्धी परामर्श कक्ष समेत सञ्चालन गरिएको बताइएको छ ।

1000171268-1777220154.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update