Kakhara सबैको खबर सम्पूर्ण खबर
मनराजको पहलमा रुकुम भलिबल टिमलाई २ लाख सहयोग 

काठमाडौँमा जारी १० औँ संस्करणको प्रधानमन्त्री कप भलिबलमा सहभागी रुकुम पश्चिम टिमका लागि सहयोग सङ्कलन भइरहेको छ । विदेशी खेलाडी सहित प्रतियोगितामा उत्रिएको रुकुम पश्चिमका लागि देश तथा विदेशबाट सहयोग सङ्कलन भइरहेको छ । 

जसअन्तर्गत अमेरिकाबाट २ लाख सहयोग प्राप्त भएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष एवं टिम प्रशिक्षक तेज बुढाका अनुसार अमेरिकाबाट मनराज देवकोटाको पहलमा २ लाख रुपैयाँ प्राप्त भएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा सहभागिताका लागि ठुलो रकम आवश्यक रहेको अवस्थामा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरूलाई सहयोगका लागि केन्द्रले आह्वान गरेको छ । जस अनुसार देवकोटाले आफू स्वयं र अन्य साथीभाइको सहयोगमा २ लाख रुपैयाँ पठाएको बुढाले बताउनुभयो । 

विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेको उहाँले बताउनुभयो । अमेरिकाबाट सागर रोकायले १ लाख, हरि गुरुङले १ लाख, सागर क्षेत्रीले ५० हजार, खुम ढकालले ५० हजार, नारायण घर्ती मगरले ३५ हजार, जोनी राजाले २० हजार, जापानबाट किङ्ग पौडेलले ३० हजार र मुसिकोट १३ का समीर गिरीले ४० हजार सहयोग गर्नुभएको छ । 

त्यस्तै मुसिकोट नगरपालिकाले ५० हजार सहयोग गरेको उहाँले बताउनुभयो । पिएम कप भलिबलमा रुकुम पश्चिम उत्कृष्ट लयमा रहेको छ । उसले लगातार तेस्रो जित हासिल गरेको छ । रुकुम पश्चिमले आज चौथो खेल बुढानीलकण्ठ भलिबल क्लबसँग खेल्दै छ । 

 ३ जना पाकिस्तानी खेलाडी सहित सन्तुलित टिमका साथ उपाधि हात पार्ने लक्ष सहित यस पटक रुकुम पश्चिम प्रतियोगितामा सहभागी बनेको छ । रुकुम पश्चिममा पाकिस्तानका अफाक खान, अदनान खान र फहद राजा सहित गण्डकी प्रदेशका कप्तान सञ्जुविक्रम शाह, मिडल ब्लकर हिमाल सुनारी लगायतका खेलाडी रहेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update