रुकुम पश्चिममा माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तर पुस्तिका परीक्षण सम्पन्न भएको छ । चैत्र १९ गतेबाट २९ गतेसम्म सञ्चालित परीक्षाको उत्तर पुस्तिका परीक्षण गरी नम्बर र उत्तर पुस्तिका परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको छ ।
जिल्लामा वैशाख १ गते नै उत्तर पुस्तिका परीक्षण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ५ गते मार्क स्लिपमा नम्बर चढाएर पठाइएको र जाँच गरिएका उत्तर पुस्तिका समेत परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको हो ।
यस पटक सरकारले सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँचको व्यवस्था मिलाएको थियो । परीक्षा भएकै दिनबाट उत्तर पुस्तिका परीक्षण सुरु भएको थियो । सम्बन्धित परीक्षा केन्द्रहरूमा रोष्टर शिक्षकको व्यवस्था गरेर उत्तर पुस्तिका जाँच गरिएको इकाई प्रमुख पुनले बताउनुभयो ।
जिल्लामा कुल २६ हजार ६ सय उत्तर पुस्तिका रहेको उहाँले बताउनुभयो । जिल्लामा कुल ३ हजार ९ सय २७ विद्यार्थीहरूले परीक्षा फारम भरेका थिए । तर विषय अनुसार सहभागी विद्यार्थी संख्या फरक फरक रहेको उहाँले बताउनुभयो ।
अनिवार्य अँग्रेजी विषयमा ३ हजार ७ सय ३४, नेपाली विषयमा ३ हजार ७ सय ३४, गणित विषयमा ३ हजार ७ सय ४९, विज्ञान विषयमा ३ हजार ७ सय २८, सामाजिक विषयमा ३ हजार ७ सय ४८, ऐच्छिक प्रथम विषयमा ३ हजार ७ सय ४८ र ऐच्छिक द्धितीय विषयमा ३ हजार ७ सय २३ जना परीक्षार्थी सहभागी बनेको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।
रुकुम पश्चिममा कुल १६ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सरकारले एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने लक्ष अनुसार उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गर्ने व्यवस्था मिलाएको थियो ।





-1759842583.jpg)