रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ हाँसिवाङमा एक वृद्धलाई ठक्कर दिएर फरार भएको मोटरसाइकलको पहिचान गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ९ गते साढे ५ बजेतिर मध्यपहाडी लोकमार्ग हुँदै सिम्लीबाट छिवाङ तर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री ७० वर्षीय दलबहादुर ओलीलाई ठक्कर दिएर भागेको थियो ।
त्यसपछि प्रहरीले उक्त मोटरसाइकलको खोजी तीव्र पारेको थियो । लगातारको प्रयासपछि उक्त मोटरसाइकल र मोटरसाइकल चालकलाई पत्ता लगाउन सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
‘हामीसँग कुनै पनि जानकारी थिएन, तर अथक प्रयास पछि मोटरसाइकलको पहिचान गरी चालक र पछाडि बस्नेलाई पक्राउ गर्न सफल भएका छौँ,’ उहाँले भन्नुभयो । उक्त घटनामा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ७ दुलिंगाबाट घटनामा संलग्न रा. ७ प ३३६० नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक २० वर्षीय पारस अधिकारी तथा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २१ वर्षीय खेमराज अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका ओलीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ओलीको दाहिने खुट्टा भाँचिएको छ भने पेटमा रगत जमेको अवस्थामा आइसियुमा राखेर उपचार भइरहेको छ । यस घटनामा प्रहरीले सँगै रहेको अर्को मोटरसाइकलमा सवार २ जनालाई समेत सोधपुछका लागि पक्राउ गरेको भए पनि उनीहरूको विवरण भने सार्वजनिक गरेको छैन ।





-1759842583.jpg)